
बिहिबार, जेठ ३२, २०८०
माओवादी केन्द्र र जसपाले सरकार छाडेपछि अल्पमतमा परेका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधान मिचेको र संसदलाई छलेको आरोप प्रतिपक्षी दलका सांसदहरुले लगाइरहेका छन् । बुधबारको प्रदेशसभा बैठकमा पनि प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी पार्टीका सांसदले सरकारले असंवैधानिक कदम चालेको भन्दै विरोध गरे । प्रदेश प्रमुखले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि धन्यवाद ज्ञापनका लागि बसेको बैठकमा प्रतिपक्षी दलका सांसदले विश्वासको मत लिएर मात्रै बजेट प्रस्तुत गर्न आग्रह गरे । नेकपा माओवादी केन्द्र कोशी प्रदेश सांसद गणेश उप्रेतीले अल्पमतमा परेपछि पहिल विश्वासको मत लिनुपर्ने बताए । नेपाली कांग्रेस सांसद केदार कार्कीले विश्वस गुमाइसकेको सरकारले संसद र प्रदेश प्रमुखको अपमान भएको दाबी गरे । नेकपा एकिकृत समाजवादी पार्टी कोशी प्रदेश संसदीय दलका नेता राजेन्द्र राईले विश्वासको मत लिएर मात्रै अघि बढ्न आग्रह गरे । एमाले प्रमख सचेतक रेवतीरमण भण्डारीले सरकर छाडेपछि ३० दिन भित्र विश्वासको मत लिने समय भएका कारण बजेट कानुनी प्रक्रियाबाट ल्याउने बताए । संसद भित्र प्रतिपक्षी दलका सांसदले मुख्यमन्त्रीको चर्को विरोध गरेपनि संसद बाहिर नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्री कार्कीको पक्षमा देखिए । संसद बाहिर सञ्चारकर्मीसँग कुरा गर्ने क्रममा उनले आफू नेतृत्वमा भएको भएपनि अहिलेको मुख्यमन्त्रीले जस्तै गर्ने बताए । उनकै दलका सांसदले भने मुख्यमन्त्रीले सदन अधिवेशन अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याउन खोजेको भन्दै विरोध जनाएका थिए ।‘यो गम्भीर परिस्थीतिबाट आएको नीति तथा कार्यक्रम छ, कोशी प्रदेशको सरकारको नीति तथा कार्यक्रम, अहिलेको सरकार, अहिलेको अवस्था यहाँहरुले बुझ्नु भएकै छ,’ सञ्चारकर्मीसँग कुरा गर्दै थापाले भने,‘ हामी भएको थियो भनेपनि यो सरकारले जुन ढंगले काम गर्न खोजिरहेको छ, त्यहीँ ढंगले नै गर्थ्यौं ।’