
बुधबार, २० मंसिर २०८०
विराटनगर रहेको कवाडी गोदाममा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–७ सातघुम्तीमा रहेको कवाडी गोदाममा आगलागी हुँदा जलेर दुई जना कामदारको मृत्यु भएको हो । आगलागीमा परी दुई जना गम्भीर घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रञ्जनकुमार दाहालका अनुसार आगलागीमा परेर विराटनगर– ६ का ४० वर्षीय दीपक मण्डलको न्युरो अस्पतालमा मृत्यु भएको हो । एक जनाको जलेर मृत्यु भएको अवस्थामा घटनास्थलमा शव फेला परेको हो । शवको पहिचान खुलेको छैन ।विराटनगर महानगरपालिका–७ सातघुम्तीमा रहेको कवाडी पसलमा बुधबार दिउँसो २ः१५ बजेतिर आगलागी सुरु भएको थियो । आगलागीमा परेकामध्ये ५ जनालाई उद्धार गरेर उपचारका लागि लगिएको थियो ।घाइतेमध्ये विराटनगर–६ की अन्दाजी ६० वर्षीया रीता सरदार, विराटनगर–६ की अन्दाजी ६५ वर्षीय सुशीला पासवान, मोरङको कटहरी गाउँपालिका–६ की अन्दाजी ३० वर्षीया पिंकी कामतको न्युरोमा र विराटनगर–६ का अन्दाजी ५८ वर्षीय किशोर कामतको कोसी अस्पतालमा उपचार भइरहेको छ ।कवाडी गोदाममा भएको आगलागीको कारण नखुलेको प्रहरीले जनाएको छ ।