
बैशाख १०, २०८०
नेपाल विद्युत् प्राधिकरणले अघोषित लोडसेडिङ गरेपछि सुनसरी–मोरङ औद्योगिक क्षेत्रका उद्योगी व्यवसायी सडकमा उत्रिएका छन् ।विद्युत् आपूर्ति नियमित गर्न माग गर्दै उद्योगी व्यावसायीहरू सडकमा उत्रिएका हुन् । नियमित विद्युत् आपूर्ति गर्न नसके लोडसेडिङको कार्यतालिका दिनुपर्ने उनीहरूको माग छ ।उद्योग वाणिज्य महासंघ कोशी प्रदेश, नेपाल उद्योग परिसंघ कोशी प्रदेश, उद्योग संगठन मोरङ र मोरङ व्यापार संघलगायता संस्थाले एक सातायता विद्युत् कटौतीको विरोध गर्दै आएका छन् ।मोरङ व्यापार संघले भने आइतबार नेपाल विद्युत प्रधिकरण दुहबी ग्रिडमा धर्ना दिएको छ । धर्नाका क्रममा उद्योगी व्यावसायीले नियमित विजुली दिन नसके लोडसेडिङको कार्यतालिका सार्वजनिक गर्न माग गरे ।नेपाल विद्युत प्रधिकरणले औद्योगिक क्षेत्रमा विहान ६ बजेदेखि १० बजेसम्म र बेलुका ५ बजेदेखी राती १० बजेसम्म दैनिक विद्युत् कटौती गरिरहेको छ । त्यस बाहेक अन्य समयमा पनि विद्युत् कटौती हुने गरेको उद्योगीको गुनासो छ ।मोरङ व्यापार संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य नवीन रिजालले नियमित विद्युत आपूर्ति गर्न नसके कटौतीको कार्यतालिका सार्वजनिक गर्न माग गरे । अनियमित रूपमा विद्युत कटौती हुँदा उद्योगको कच्चा पदार्थमा क्षति पुग्ने गरेको उनले बताए ।उद्योगी व्यावसायीले दुहबी ग्रिडका प्रमुख रोशन खड्कालाई ज्ञापन पत्र बुझाउँदै नियमित विद्युत् आपूर्ति गर्न नसके लोडसेटिङको कार्यतालिका सार्वजनिक गर्न माग गरे । सुनसरी मोरङ औद्योगिक करिडोमा गत मंसिरबाट नै विद्युत कटौती सुरु भएको उद्योगीको गुनासो छ ।नेपाल विद्युत प्राधिकरण दुहबी ग्रिडका प्रमुख खड्काका अनुसार पूर्व क्षेत्रमा गर्मी लागेपछि विजुलीको माग दैनिक २७० देखि २८० मेगावाटसम्म पुगेको छ । आपूर्ती भने २३० देखि २४० मेगावाट मात्रै भइरहेको उनले बताए ।विजुली सप्लाई व्यवस्थापनका लागि औद्योगिक क्षेत्रलाई पिक आवरमा लोडमा राखिने उनले बताए । उनका अनुसार औद्योगिक क्षेत्रको विद्युत कटौती रोक्ने दुई वटा बिकल्प, ‘पहिलो पानीको स्रोत बढ्नु र दोस्रो भारतबाट आयात बढाउनु’ हुन् ।जलासय युक्त आयोजनामा पानी घटेपछि नेपालको उत्पादन घटेको छ । भारतबाट आयात गर्दा पनि पिक आवरमा विजुली नआउने उनले बताए ।कुसाहा–कटैया प्रसारणलाइनबाट दैनिक ७०–८० मेगावाट विजुली पूर्व क्षेत्रका लागि आँउछ । तर विहारबाट आउने विजुली पिक आवरमा भने काटिने उनले बताए ।दुई वटा प्रसारणलाइन मध्ये एउटाबाट मात्रै आँउछ । पिक अवरमा उत्ता माग बढ्दा कटौती गर्छ’, उनले भने, ‘अर्को प्रसारणलाइनबाट थप विजुली ल्याउने प्रयास भइरहेको छ ।’ भारतबाट थप विजुली आए माग धान्न सहज हुने उनको भनाई छ ।