
आइतबार, बैशाख ३१, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे छलफल गर्नका लागि संसद्मा प्रतिनिधित्व गर्ने तीन ठूला राजनीतिक दलका नेताहरूसँग छलफल गरिरहेका छन् । प्रधानमन्त्री दाहालले आर्थिक वर्ष २०८० र ०८१ को नीति तथा कार्यक्रममाथि तीन राजनीतिक दलका नेताहरूसँग छलफल गरिरहेका हुन् ।प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लका अनुसार कांग्रेस, एमाले र माओवादी केन्द्रका संसदीय दलका नेता र प्रमुख सचेतकहरू छलफलमा सहभागी छन् ।छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख सचेतक रमेश लेखक, एमाले संसदीय दलका नेता केपी शर्मा ओली, उपनेता सुवासचन्द्र नेम्वाङ, माओवादी केन्द्रका प्रमुख सचेतक हितबहादुर पाण्डे सहभागी छन् । छलफलमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का पनि सहभागी रहेका छन् ।संसद्लाई प्रभावकारी रूपमा सञ्चालन गर्ने विषयमा पनि छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । प्रधानमन्त्री दाहाल, देउवा र ओलीले त्यसअघि तीन जनाको मात्रै बैठक बसेका थिए ।