
सोमबार, साउन ०८, २०८०
इटहरी उपमहानगरपालिकाले छात्रवृत्ति विवरण नबुझाउने दुई निजी विद्यालयको अनुमति रद्द गरेको छ । इटहरी– १० मा रहेको इटहरी नमुना स्कुल र वडा नम्बर ६ मा रहेको इटहरी चिल्ड्रेन स्कुलको अनुमति रद्द गरेको हो ।प्रचलित शिक्षा ऐन र नियमावलीमा भएको व्यवस्था बमोजिम पटक–पटक छात्रवृत्ति वितरणको विवरण पेस गर्न लिखित पत्राचार गरे पनि अटेर गरेपछि अनुमति रद्द गरिएको इटहरीका मेयर हेमकर्ण पौडेलले जानकारी दिए ।२०८० असार २९ गते बसेको नगर शिक्षा समितिको बैठकले समयमा छात्र वृत्तिको विवरण नबुझाउने विद्यालयको अनुमति रद्द गर्ने निर्णय गरेको थियो । गत असार २१ गते बसेको नगर शिक्षा समितिको बैठकले तोकिएको समय सीमा भित्र विवरण नबुझाउने विद्यालयलाई १ लाख जरिवाना तोकेको थियो । जरिवाना र विवरण नबुझाएपछि उपमहानगरपालिकाले दुई विद्यालयको अनुमति रद्द गरेको हो ।इटहरी नमुनाले कक्षा ६ सम्मको अनुमति लिएको थियो । चिल्ड्रेन स्कुलले कक्षा १० सम्मको अनुमति लिएको थियो । उपमहानगरपालिकाले अनुमति रद्द गरेको पत्र आइतबार विद्यालयहरुलाई पठाएको छ ।अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन २०७५ अनुसार संस्थागत विद्यालयहरूले विद्यार्थी संख्याको अनुपातमा छात्रवृत्ति प्रदान गर्नुपर्ने व्यवस्था छ । नियमानुसार छात्रवृत्ति प्रदान गरेको विवरण स्थानीय सरकार समक्ष बुझाउनुपर्छ । नियमानुसार ५ सय जनासम्म विद्यार्थी सङ्ख्या हुने विद्यालयले १० प्रतिशतलाई अनिवार्य छात्रवृत्ति दिनुपर्छ ।५ सयदेखि ८ सय जनासम्म विद्यार्थी हुनेले १२ प्रतिशत र ८ सयभन्दा माथि हुनेले १५ प्रतिशतलाई छात्रवृत्ति दिनुपर्ने कानुनी प्रावधान छ । बाल कक्षादेखि कक्षा १२ सम्मकै हकमा यो नियमानुसार छात्रवृत्ति दिनुपर्ने हुन्छ ।