
आइतबार, २४ मंसिर २०८०
इटहरी उपमहानगरपालिकाले नगर क्षेत्रका सरकारी विद्यालयहरूमा मेन्यु सहितको खाजा कार्यक्रम सुरु गरेको छ । छात्रछात्राहरूलाई मेन्यु सहितको दिवा खाजामा कार्यक्रम सुरु गरेको हो ।नेपालमै पहिलो पटक इटहरी उपमहानगरपालिकाले टेन्डर मार्फत मासुसहितको मेन्यु तयार गरी दिवा खाजा खुवाउन सुरु गरेको मेयर हेमकर्ण पौडेलले बताए । जंक फुड नखुवाउन उपमहानगरले पहिलोपटक दिवा खाजा वितरणका लागि टेन्डर जारी गरेको उनले बताए ।दिवा खाजा कार्यक्रमको आइतबार इटहरी वडा १ मा सञ्चालित राष्ट्रिय माध्यमिक विद्यालयबाट कक्षा ६ का विद्यार्थीलाई खाजा खुवाएर नगरप्रमुख पौडेलले सुरुवात गरे ।सामुदायिक विद्यालयहरूमा अध्ययनरत बालबालिकाहरूलाई विद्यालयमा टिकाउन र गुणस्तर वृद्धि गर्न सङ्घीय सरकारले बाल कक्षदेखि पाँच कक्षासम्मका लागि प्रति विद्यार्थी दिवा खाजाको रकम १५ रुपैयाँको दरले दिँदै आएको थियो । इटहरी उपमहानगरले बालदेखि ६ कक्षासम्मका लागि विद्यालयमै पौष्टिक दिवा खाजा खुवाउने व्यवस्था मिलाइएको छ ।

दिवा खाजा कार्यक्रमका लागि संघीय सरकारले चालु आर्थिक वर्षका लागि इटहरी क्षेत्रभित्रका सामुदायिक विद्यालयका विद्यार्थीका लागि एक करोड ९८ लाख ८४ हजार रुपैयाँ अनुदान उपलब्ध गराएको छ । उपमहानगरपालिकाले तीन करोड ६६ लाख १६ हजार रुपैयाँ थप गरी पाँच करोड ६२ लाख ८० हजार ४५४ मा एरिना टिफिनलाई ठेक्का लगाएको थियो । यो कार्यक्रममा इटहरीका ८ हजार २८ जना विद्यार्थी सहभागी छन् ।
्