११ असार, २०८१ / सुनसरी र मोरङको सीमा भएर बग्ने बुढी खालामा मङ्गलवार आएको बाढीले मोरङ सुन्दरहरैंचा ५ खोक्सीका ५ जनालाई बगाउँदा एकको मृत्यु भएको छ । खोलामा माछा मार्न जाने क्रममा एक्कासि बाढी आएपछि पाँच जनालाई बगाएको हो । बाढीले बगाउँदा मोरङ सुन्दरहरैंचा ५ खोक्सीका २३ वर्षीया प्रेम कला चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । पाचँजना मध्ये स्वस्तिका चौधरी भने रुखको ठुटामा अल्झिएको देखेपछि स्थानीयले उनलाई उद्धार गरेका थिए ।
बाढीले सुन्दरहरैंचा ५ कि ३५ वर्षीया फुल कुमारी चौधरी , ६० वर्षीया अफसरा चौधरी र एक जना पुरुषलाई बगाएर बेपत्ता बनाएको प्रहरीले जनाएको छ । खोलामा बाढी आएपछि सो क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ भने सुन्दरहरैंचाका नगर प्रमुख केदार प्रसाद गुरागाईँले घटना प्रति दुख व्यक्त गर्दै उचित राहतको व्यवस्था गर्ने बताएका छन् । घटनामा मृत्यु हुने र बेपत्ता हुने एकै परिवारको रहेको बुझिएको छ ।
