नेकपा एमालेले कार्यक्रम सञ्चालन शैली सच्याउने प्रस्ताव फेरि ल्याएको छ ।
मंगलबारदेखि केन्द्रीय कार्यालय च्यासलमा जारी पोलिटब्यूरो बैठकमा महासचिव शंकर पोखरेलले पार्टी कार्यक्रम सञ्चालनको भद्दा शैली सच्याउनुपर्ने प्रस्ताव ल्याएका हुन् ।
विविध शीर्षकमा महासचिव पोखरेलले तीन वटा विषय राखेका छन् । त्यसको पहिलो नम्बरमा समयभित्रै बैठक/कार्यक्रमहरू सुरु गर्नुपर्ने विषय उल्लेख छ ।
‘ठिक समय, एमाले समय’ भन्ने मान्यतामा रहेर तोकिएकै समयमा नेताहरू पुग्ने र कार्यक्रम सुरु गर्नुपर्ने प्रस्ताव गरिएको छ ।
दोस्रो नम्बरमा अतिथि आसन ग्रहण र मञ्च व्यवस्थापनबारे उल्लेख छ । ‘कार्यक्रम तथा बैठकहरूमा अतिथि आसन र वक्ताहरूको भद्दा शैलीमा सुधार ल्याउने’, प्रस्तावमा भनिएको छ ।
कार्यक्रम सञ्चालनमा अतिथि आसन ग्रहणको लर्को, फूल मालाको भारी जस्ता भद्दा शैली सच्याउन एमालेले एक वर्ष अगाडि अन्तर पार्टी निर्देशन (अपानि)नै जारी गरेको थियो ।
गत वर्ष १ भदौमा जारी अपानि-८ मा पार्टीको कार्यक्रम गर्दा अतिथिहरूको लागि मञ्चमा कुर्सी नराख्न, खादामालनको प्रयोग नगर्न र वक्ता बाहेकलाई आसन ग्रहण नगराउन निर्देशन दिइएको थियो ।
