
कार्तिक २५, २०८१,
कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री तथा एमाले सांसद लीलाबल्लभ अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।नक्कली कागजात बनाएर मानव तस्करीको आरोप लागेपछि अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक भीम दाहालले अधिकारीलाई नियन्त्रणमा लिइएको पुष्टि गरे ।उहाँ अहिले हाम्रो नियन्त्रणमा हुनुहुन्छ । अब उहाँलाई काठमाडौँ पठाउन लागेका छौँ ।’ एसएसपी दाहालले भने ।अधिकारीले गत कार्तिक १३ गते जापान भ्रमणको क्रममा नक्कली कागजात लिएका तीन जना नेपालीलाई लगेको आरोप लागेको छ ।नक्कली कागजात बनाएर अधिकारीसँगै जापान पुगेकाहरूले प्रतिव्यक्ति १० लाख रुपैयाँ बुझाएको आरोप उनीमाथि लागेको छ ।टोकियो विमानस्थलबाट डिपोर्ट भएर काठमाडौँ फर्किएका खोटाङका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवा घर भएका २२ वर्षीय कञ्चन देवकोटाले प्रतिव्यक्ति १० लाख रुपैयाँ अधिकारीलाई बुझाएको प्रहरीको बयानमा उल्लेख गरेका छन् ।डिपोर्ट भएका ३ जना बाहेकका धादिङ घर भएका ३४ वर्षीय महेश पाण्डे, नुवाकोट घर भएका २३ वर्षीय जुगल रिजाल र दोलखा घर भएका ३० वर्षीय वीरबहादुर सुनार पक्राउ परेका छन्। यससँगै उक्त प्रकरणमा पक्राउ पर्नेको संख्या पूर्वमन्त्रीसहित ७ पुगेको छ।