आइतबार, १२ चैत २०७९
कोशी प्रदेशका ठूला चार दलले नामाङ्कनको निर्णयलाई शिरोधार्य गर्न अपिल गरेका छन् ।
नामका कारण असन्तुष्टी बढेपछि नेकपा एमाले, नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले विज्ञप्ति जारी गर्दै नामाकरणको निर्णयलाई शिरोधार्य गर्न आग्रह गरेका हुन् ।
गत फागुन १७ गते प्रदेश सभाबाट भूगोलका आधारमा प्रदेशको नाम ‘कोशी’ राखेपछि पहिचान पक्षधर असन्तुष्ट छन् ।
असन्तुष्टिको आन्दोलनका क्रममा गत चैत ५ गते घाइते भएका पदम लिम्बूको शुक्रबार मृत्यु भएको थियो । पहिचान पक्षधर दल र संस्थाले गठन गरेको ‘प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त संघर्ष समिति’ले सांसद बहिस्कार अभियान पनि सञ्चालन गरिरहेको छ ।
‘बृहत सहमतिका साथ प्रदेशको नामाकरण गर्न सफल हुनुभएकोमा प्रदेशसभा सदस्यहरुज्यूहरुलाई हार्दिक धन्यवाद तथा बधाई व्यक्त गर्दै सर्वभौम सम्पन्न प्रदेशसभाको भारी बहुमतबाट भएको प्रदेशको नामाकरणको निर्णयलाई शिरोधार्य गर्न आम प्रदेशबासीमा अनुरोध गर्दछौं,’ नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र र राप्रपाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नामाकरणका विषयलाई लिएर भइरहेका सामाजिक सदभावमा खलल पुग्ने तथा असंवैधानिक गतिविधि तत्काल बन्दगरी शान्तिपूर्ण ढंगबाट आफ्नो मत र मुद्दालाई स्थापित गर्न तथा सम्वाद, वार्ता र छलफलको माध्ययमबाट समस्याको सामधान गर्न सरकारलगायत सम्बन्धित सबैपक्षलाई अपिल गर्दछौं ।’
नेकपा एमाले कोशी प्रदेश अध्यक्ष तुलसीप्रसाद न्यौपाने, कांग्रेस कोशी प्रदेश सभापति उद्धव थापा, माओवादी केन्द्र कोशी प्रदेश सचिव गणेश उप्रति र राप्रपा प्रदेश अध्यक्ष राम थापाले जारी गरेको विज्ञप्तिमा नामाकरणको विषयमा कुनै असहमति वा फरक मत भए संवैधानिक प्रकृया मार्फत सामधान हुने भएकाले बार्तामा बस्न दुवै पक्षलाई आग्रह गरिएको छ ।
नामको विषयमा असन्तुष्टि जनाउँदै गठन भएको ‘प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त संघर्ष समिति’ले प्रदेश सांसद बहिस्कार अभियान र नामाङकनविरुद्ध प्रदर्शन गरिरहेको छ ।
गत चैत ५ गते विराटनगरमा भएको आन्दोलनमा एक आन्दोलनकारीको मृत्यु भएपछि सरकारले गृह मन्त्रालयमा सहसचिव रामबन्धु सुवेदीको नेतृत्वमा छ सदस्यीय छानविन समिति गठन गरेको थियो ।