
बुधबार, जेठ १७, २०८०
इटहरी / विराटनगरको एकीकृत भन्सार जाँचविन्दु ९आईसीपी० मा निर्माण भएको रेल्वे यार्डसम्म कार्गो रेल सेवा सञ्चालन हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीले बिहीबार नयाँ दिल्लीमा कष्टम यार्डको संयुक्त रुपमा उद्घाटन गरेर कार्गो रेल सञ्चालनको अनुमति दिने तयारी गरेको विराटनगर भन्सार प्रमुख ज्ञानेन्द्र ढकालले बताभयो । भन्सार यार्डसम्म कार्गो रेल सेवा सञ्चालन भएपछि सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगका कच्चा पदार्थ र उत्पादित वस्तुको आयात निर्यात कार्गो रेलबाट हुनेछ । उद्घाटनको दिन फलाम उद्योगको कच्चा पदार्थ कार्गो रेलबाट आयात गर्ने उद्योगीको तयारी छ । यसअघि पनि फलाम उद्योगका कच्चा पदार्थ रेलबाट आयात वथनाहसम्म ल्याएर त्यहीं अनलोड गरेर ट्रक मार्फत भन्सार यार्ड ल्याउने गरिएको ढकालले बताए । अब भने भन्सारसम्मै कार्गो रेलबाट आयात हुनेछ ।भन्सार यार्डसम्म कार्गो रेल सेवा सुरु भएपछि औद्योगिक कच्चा पदार्थको ढुवानीमा कम्तीमा ४० प्रतिशत लागत न्यून हुने मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालको भनाइ छ । ‘ट्रक र कन्टेनरमा औद्योगिक कच्चा पदार्थ आयात गर्दा महँगो ढुवानी खर्च तिर्नुपर्दा उत्पादन लागत बढी पर्दथ्यो’ रिजालले भन्नुभयो । ‘कार्गो रेलबाट कच्चा पदार्थ ढुवानी हुँदा खर्च कम भई औद्योगिक उत्पादनको लागत पनि कम हुन्छ ।’ सुनसरी मोरङ औद्योगिक करिडोरमा साना ठूला गरेर पाँच सय उद्योग छन् ।