
बुधबार, जेठ ३१, २०८०
नेकपा माओवादी केन्द्र र जसपाले सरकार छाडेपछि कोेशी प्रदेशमा नयाँ सरकार गठनको गृहकार्य सुरु भएको छ । नेकपा एमाले–राप्रपा र कांग्रेस–माओवादी केन्द्र– नेकपा एस– जसपा गठबन्धनको स्पष्ट बहुमत नभएका कारण नयाँ सरकार गठनको स्पष्ट चित्र आएको छैन । मध्यवधी निर्वाचनको जोखिम पनि भएका कारण दलहरुले मध्यवधी रोक्न दुई वटा विकल्प अघि सारेको छ । पहिलो एमाले, कांग्रेस, माओवादी केन्द्र,नेकपा एसको आलोपालो सरकार । दोस्रो कांग्रेस, माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी पार्टी र राप्रपाको आलोपालो सरकार । पहिलो विकल्पमा कांग्रेस र एमाले नेताहरु तयार छन् । केन्द्र अनुसार सरकार बन्नु पर्ने अडानमा रहेको माओवादी केन्द्र दोस्रो विकल्प अनुसार राप्रपाको नेतृत्व स्वीकार गर्न तयार छैन । प्रदेश खारेजको अभियान चालिरहेको राप्रपालाई मुख्यमन्त्रीको नेतृत्व दिन नमिल्ने माओवादीको अडान छ । पहिचानको आन्दोलनलाई सम्बोधनका लागि कांग्रेस नेताले एमालेसहितको १५ महिने आलोपालो सरकारको विकल्प अघि सारेका हुन् ।कोशी प्रदेश नामाङ्नपछि प्रदेशमा पहिलचान पक्षधरले आन्दोलन चर्काएको छ । आन्दोलनकारीको माग सम्बोधनका लागि एमालेको साथ विना सम्भव नभएका कारण कांग्रेस नेताले एमालेसहितको प्रस्ताव अघि सारेका हुन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले केही दिनअघि सहमतिय सरकारको प्रस्ताव गरेका थिए ।माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो केन्द्रीय गठबन्धन अनुसार नै प्रदेशमा सरकार बन्ने बताउँछन् । केन्द्रमा एउटा र प्रदेशमा अर्को गठबन्धन भएका कारण सरकार छाडेको बताउँदै उनले अब बन्ने सरकार केन्द्रीय गठबन्धन अनुसार नै हुने बताए । कांग्रेस, माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी पार्टी र जसपासहितको गठबन्धनमा राप्रपा पनि जोडिने आङ्बो बताउँछन् । राप्रपा नजोडिएपनि प्रदेशमा बहुमत पुग्ने उनको दाबी छ । सम्मानजनक सहभागितासहित नयाँ गठबन्धनमा सहभागि हुन राप्रपालाई आग्रह गरिएको उनले बताए । एमालेसँग मिलेर चुनाव लडेका कारण राप्रपाले एमालेको साथ छाडेको छैन् । तर एमालेको सरकार ढल्ने अवस्था आएपछि राप्रपाले साथ दिने सत्ता पक्षको दाबी छ । एमालेको सरकार रहुन्जेलसम्म एमालेलाई साथ दिनु स्वभाविक भएको बताउँदै आङ्बो राप्रपा प्रदेश सभा विघटनको कारण नबन्ने बताउँछन् ।नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा प्रदेशमा एमालेसहितको सरकार भन्दा पनि राप्रपालाई समेटेर नयाँ सरकार बन्ने कुरामा विश्वस्त छन् । ‘सहमतिको सरकारका लागि अलिक अगाडि मुख्यमन्त्रीले प्रस्ताव गर्नुभएको थियो, त्यसपछि उहाँले कुरा अगाडि बढाउनु भएन,’ उनले भने,‘ अहिले ति कुरा गौड भइसके, अब गठबन्धनको सरकार बन्छ ।’
९३ सदस्यीय कोशी प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्छ । एमाले–राप्रपाको सत्ता पक्षिय र प्रतिपक्षी गठबन्धनसँग ४६–४६ मत छ । सभामुख निर्णयक भूमिकामा छन् । सभामुख माओवादी केन्द्रका हुन् । प्रदेश प्रमुख पर्शुराम खापुङपनि गठबन्धनकै हुन् । प्रदेश प्रमुख र सभामुख आफू अनुकल भएका कारण सत्ता गठबन्धनको आत्मविश्वास बलियो छ । वर्तमान अल्पमतको सरकारको पक्षमा एमालेका ४० र राप्रपाका ६ जना छन् । विपक्षमा कांग्रेसका २९, माओवादी केन्द्रका ९सभामुख बाहेक० १२,नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद् छन् ।