२७ मंसिर २०८०
जाडो मौसममा हाम्रो वरपरको वातावरण सुख्खा हुन्छ । यसकारण हाम्रो शरीरको छाला पनि सुख्खा हुन्छन् । जाडो मौसमको प्रमुख समस्या नै छाला सुख्खा हुनु हो । शरीरको सुक्खापनका कारण नै छालामा धेरै समस्याहरू आउँछ ।जाडोयाममा हावा चिसो, रुखो र हावाको तुलनात्मक रुपमा घट्दै जान्छ । जसले छालामा रहेको पानीको मात्रा सुक्छ । छालाको चिल्लो पदार्थ घट्न जान्छ जसका कारण
हात, खुट्टा, ओठ, अनुहार फुट्ने समस्या देखापर्छ । फुस्रो छाला बढी चिलाउँछ र यसमा एक्जिमको मात्रा बढी हुँदा एलर्जी हुने गर्छ ।हाम्रो शरीरको बाहिरी सतहलाई एपिडर्मिस भनिन्छ, जसले हाम्रो शरीरको पानीलाई रोक्ने काम गर्छ । जाडो महिनामा त्यो एपिडर्मिस घट्दै जान्छ र छाला फुस्रो हुने साथै छालामा थुप्रै समस्याहरू आउने, र दैनिक तातो पानीले नुहाउँदा पनि छाला सुख्खा हुने भएकाले समस्या देखिने विराट मेडिकल कलेज शिक्षण अस्पतालकी छाला रोग विशेषज्ञ डाक्टर अनिला कीर्ति बताउँछिन् ।जाडो मौसममा शरीरलाई चाहिने भनेको पानी हो । त्यसैले जाडो मौसममा धेरै पानी पिउनु राम्रो मानिन्छ । उनका अनुसार छालालाई सुख्खा हुन नदिन जाडो मौसममा मोइस्चराइजरको प्रयोग गर्नुपर्छ । तर, मोइस्चराइजर एकपटक लगाएर पुग्दैन । समयसमयमा लगाइरहनुपर्छ ।
छालाको समस्याबाट बच्न शरीरलाई चाहिने भनेको भिटामिन ए, सी र ई मुख्य हुन् । छालालाई हेरचाह गर्न दैनिक फलफूलहरू खाने, हाम्रो शरीरलाई भित्रैबाट सुख्खा हुनबाट जोगाउन शरीरको तापक्रमलाई मेन्टेन गरिराख्नु पर्ने उनले बताइन् ।







