
मङ्गलबार, १७ पुस २०८०
इटहरी उपमहानगरपालिकाका ३६ जना नगर प्रहरी आज दीक्षित भएका छन्।
इटहरी रंगशालामा आभारभूत तालिममा सहभागी ३६ जना नगर प्रहरीहरूलाई दीक्षित गरिएको उपमहामनगरले जनाएको छ।उनीहरूलाई इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेल, सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य इटहरी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहेता, सुनसरीका प्रहरी प्रमुख बिपिन रेग्मी, सशस्त्र प्रहरीका एसपी लकेस तुम्हाङ्फे लगायतले दीक्षित गरेका हुन्।३५ दिन सम्म चलेको तालिममा रामतपेश्वर यादव लगायतका टोलीले प्रशिक्षण गरेका थिए। तालिमको पहिलो चरणमा नगर प्रहरी परिचय तथा मूल्य शिक्षा र संविधान तथा ऐन नियम, दोस्रो चरणमा सुरक्षा तथा नगर प्रहरी कार्य र भीड व्यवस्थापन र तेस्रो चरणमा स्थानीय निकायको काम कर्तव्य र अधिकारका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो।
पप महानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले नयाँ नगर प्रहरीहरूको आवागमनले नगर प्रहरीलाई थप सशक्त बनाएको बताए। जनशक्तिका हिसाबले नगर प्रहरीको संख्या बढ्नुका साथै समग्र इटहरी उपमहानगरपालिकाको सुव्यवस्थामा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे।नगर प्रहरीलाई उपमहानगरपालिकाको सम्पत्तिको सुरक्षा र संरक्षण, उपमहानगरमा हुने विभिन्न सभा समारोह, स्थानीय जात्रापर्वहरूको सुरक्षा व्यवस्थापन, उपमहानगर क्षेत्रको पार्किङ स्थलको रेखदेख तथा व्यवस्थापन, सरसफाइ सम्बन्धी मापदण्डको कार्यान्वयन, न्यायिक समितिले गरेका मिलापत्र तथा निर्णयको कार्यान्वयन, सार्वजनिक जग्गा तथा सम्पत्तिको संरक्षण, विपद् व्यवस्थापन, छाडा पशुको नियन्त्रण, अनधिकृत निर्माणमा रोक लगायतका जिम्मेवारीहरू तोकिएको उपमहानगरको भनाइ छ।