
२९ माघ २०८०,
भारतीय नम्बर प्लेटको स्करपियोमा एक करोड ८२ लाख ५१ हजार नक्कली नोट फेला परेको छ । सुनसरीबाट प्रहरीले एक हजार दरका नक्कली एक करोड ८२ लाख ५१ हजार नोट बरामद गरेको हो ।सुनसरी प्रहरी उपरीक्षक विपिन रेग्मीका अनुसार आइतबार भारतीय स्कोरपियो गाडीमा राखेर ल्याउँदै गरेको अवस्थामा इनरुवा नगरपालिका–४ स्थित सुनसरी खोलाको पुलनजिकबाट नक्कली नोट बरामद भएको हो । नक्कली नोटसँगै एक जना भारतीय नागरिक पनि पक्राउ परेको उनले बताए ।सवारीसाधन चेकजाँचमा खटिएको ट्राफिक प्रहरीको टोलीले सुरुमा बीआर ११ एक्स ३४२९ नम्बरको स्कोरपियो गाडी रोकेको थियो । शंकास्पद अवस्थाको स्कोरपियो गाडी राखेर खानतलासी गर्दा पछाडिको भागमा लुकाईछिपाई ल्याइएको नक्कली नोटहरु बरामद भएको हो ।बोराभित्र झोलामा राखेर ल्याइएको अवस्थामा नक्कली नोट फेला परेको प्रहरीले बताएको छ । प्रहरी स्रोतका अनुसार स्कोरपियो चालक भारत वीरपुरका २२ वर्षीय मोहमद सैयद पनि पक्राउ परेका छन् । स्कोरपियोमा सवार अर्का व्यक्ति भने फरार छन् । गाडी भारतबाटै आएको देखिएको प्रहरीले बताएको छ ।प्रहरी उपरीक्षक रेग्मीले रकम बरामद भएपछि अनुसन्धान प्रक्रिया अघि बढाइएको बताए । पक्राउ परेको नगदका विषयमा प्रहरीले सोमबार दिउँसो पत्रकार सम्मेलन गर्ने उनले बताए ।