
१७ फागुन २०८०,
इटहरी स्थित बुढी जमुना मुक्तीघाटमा विद्युतीय दाहसंस्कार स्थल बन्ने भएको छ । कोशी प्रदेशमै पहिलो पटक इटहरीमा इलेक्ट्रिक दाहसंस्कार स्थल बन्न लागेको हो । इटहरी उपमहानगर र कोशी प्रदेश सरकारको साझेदारीमा इटहरीमा अत्याधुनिक विद्युतिय शवदाह निर्माण हुने पक्का भएको छ । यहि आर्थिक बर्षमा काम सकिने गरि काम अगाडि बढाईने भएको छ । बिहिबार कोशी प्रदेशका वन,पर्यटन तथा वातावरण मन्त्री गणेश प्रसाद उप्रेती इटहरी उपमहानगरका मेयर हेमकर्ण पौडेलको उपस्थितमा इटहरी(४ मा रहेको बुढीजमुना मुक्तिघाट इटहरीको किनारमा यसै आर्थिक बर्षमा निर्माण सम्पन्न गर्ने विषयमा निर्णय भएको हो । दाउरा विपन्न तथा गरिवहरुलाई महङ्गो पर्ने र समय पनि धेरै लाग्ने भए पछि इलेक्ट्रिक दाहसंस्कार स्थल बनाउन लागेको इटहरीका मेयर हेमकर्ण पौडेलले बताए । दाउराले जलाउँदा दुई तीन घण्टा लाग्ने भए पनि यसमा भने दाहसंस्कार सुरु गरेको ४५ देखि ६० मिनेटसम्ममा लाश जलिसक्नेछ । इटहरीमा सुविधा सम्पन्न विद्युतिय शवदाह निर्माण गर्न इटहरीका मेयर हेमकर्ण पौडेलले पटकपटक प्रदेश सरकार र संघीय सरकारलाई आग्रह गर्दै आएका थिए ।इटहरी उपमहानगरले घर देखि घाट सम्म स्थानीय सरकार भन्ने नारालाई सफल बनाउन विद्युतीय शबदाह कोषेढुङ्गा साबित हुने र इटहरीको एउटा आवश्यकता पूरा हुने दाबी मेयर पौडेलको छ । कोशी प्रदेशमै पहिलो पटक इटहरी उपमहानगर र प्रदेश सरकारको संयुक्त लगानीमा विद्युतीय शवदाह निर्माण गरि सोको सञ्चालन तथा व्यवस्थापन इटहरी उपमहानगरले नै गर्ने जानकारी समेत मेयर पौडेलले दिए । ।अहिले इटहरीको बुढी जमुना मुक्त्ती घाटमा सरदर ५ वटा शवको दाहसंस्कार हुने गरेको छ । करिब ३ करोड ५० लाखको लागतमा बन्ने छ । कोशी प्रदेश सरकारले ७० प्रतिशत र इटहरी उपमहानगरले ३० प्रतिशत लगानी गर्ने समझदारी भएको र तत्काल विद्युतिय शवदाह निर्माण शुरु गर्नेगरी दुवै सरकारको संयन्त्र सम्मीलित प्राविधिक समिती समेत गठन गरिएको छ ।