
मंगलबार, असार १८, २०८१,
इटहरीस्थित जनता माविले एसइई परीक्षामा फेल भएका विद्यार्थीहरूका लागी निःशुल्क तयारी कक्षा सञ्चालन गर्ने भएको छ । मङ्गलवार एक सूचना जारी गर्दै विद्यालयले विभिन्न विषयमा एनजी प्राप्त गरेका विद्यार्थीहरुको पूरक परीक्षा तयारीका लागि निःशुल्क कोचिङ कक्षा सञ्चालन गर्ने जानकारी दिएको हो ।
विद्यालयका प्रधानाध्यापक पशुपति सिग्देलका अनुसार अनिवार्य गणित, विज्ञान , ऐच्छिक गणित र अर्थशास्त्र विषयमा कक्षा सुरु गरिएको छ । सुरुमा ४ वटा विषयको कक्षा सुरु गरिएको भएपनी आवश्यकता अनुसार अन्य विषयको कक्षा सञ्चालन गरिने प्रअ सिग्देलले जानकारी दिए ।
इटहरी उपमहानगरपालिका भित्र रहेका सबै सामुदायिक विद्यालयका विद्यार्थीहरूले लाभ लिन सक्ने गरी उक्त सेवा सुरु गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दंगाललले जानकारी दिए । सामुदायिक विद्यालयका विद्यार्थीहरूको सहुलियतका लागि बिहान १० बजे अघि र बेलुका ४ बजे पछिको समयमा निःशुल्क कक्षा सञ्चालन सुरु भइसकेको अध्यक्ष दंगालले बताए ।
