सहारा नेपाल साकोस सेवा केन्द्र सिजुवाको “सदस्य सुनौं, सदस्य बुझौं” र तीज मिलन कार्यक्रम सम्पन्न
सहारा नेपाल साकोस, सेवा केन्द्र सिजुवाले रतुवमाई ६ मा शुक्रवार “सदस्य सुनौं, सदस्य बुझौं” र तीज मिलन कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।

रङ्गेली(मोरङ्ग) सहारा नेपाल साकोस, सेवा केन्द्र सिजुवाले रतुवमाई ६ मा शुक्रवार “सदस्य सुनौं, सदस्य बुझौं” र तीज मिलन कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।
कार्यक्रमको सुरुवात सामूहिक राष्ट्रिय गान गाएर गरिएको थियो। प्रमुख अतिथि रतुवामाई नगरपालिकाकी उपमेयर दमयन्ता देवी चुडालले पानसमा दियो बालेर कार्यक्रमको उद्घाटन गरिन्। सभाध्यक्ष सहयोग समितिका संयोजक बैजनाथ शर्माले उद्घाटन ब्यानर पढेर कार्यक्रमको औपचारिक घोषणा गरे। उपस्थित सम्पूर्ण अतिथिहरूले खुत्रुकेमा पैसा संकलन गरेर कार्यक्रमलाई प्रारम्भ गरियो।
कार्यक्रमका क्रममा तीज विशेष सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो, जसले कार्यक्रमलाई सांस्कृतिक र मनोरञ्जनात्मक माहोल प्रदान गर्यो। यस अवसरमा सहाराबाट वित्तीय सहयोग लिएर आफ्नो व्यवसाय सञ्चालन गर्नेहरूले आफ्ना स्टलहरू पनि राखेका थिए, जसले कार्यक्रमलाई अझ आकर्षक बनायो।
सहयोग उपसमितिका सदस्य पिताम्बर प्रसाईले कार्यक्रमको औचित्य र उद्देश्यबारे जानकारी गराउँदै भने, “यो कार्यक्रमले संस्था र सदस्यहरू बीचको सम्बन्ध अझै मजबुत र बलियो हुनेछ भन्ने विश्वास राखेको छौँ। संस्थाको सदस्यहरूको आर्थिक तथा सामाजिक उन्नति होस् भन्ने मूल उद्देश्यका साथ विभिन्न कार्यक्रमहरू गर्दै आएका छौँ। सोही अन्तर्गत आज तीजको अवसरमा यहाँहरुलाई बोलाएर दर खाने, सुख-दुखका कुरा गर्ने र नृत्य कार्यक्रमसहित यो कार्यक्रम आयोजना गरिएको हो।”
अनुगमन प्रमुख ओम प्रकाश साहले समग्र संस्था तथा वस्तु तथा सेवाका बारेमा विस्तृत जानकारी प्रदान गरे।
सेवा केन्द्र प्रमुख गणेश उप्रेतीले स्वागत मन्तव्य राख्दै वित्तीय सहकारी संस्था केवल एक वित्तीय संस्था मात्र नभई सामाजिक संस्था पनि भएको र यसले सदस्यहरूलाई जीवनका विभिन्न अवस्थाहरूमा साथ र सहयोग गर्दै आएको बताए।
प्रमुख अतिथि दमयन्ता देवी चुडालले मन्तव्य राख्दै भनिन्, “सहारा नेपाल साकोसको यो एक उत्कृष्ट कार्यक्रम हो। आजको तीज विशेष पर्व हो। आमा, दिदीबहिनीहरू माइतमा गएर रमाउने अवसर हो। आमाले पकाएको खाने, भाउजुले पकाएको खाने, वा आफैले पकाएर खाने अवसरमा सुख-दुखका कुरा साटासाट गरेर रमाउने र आफन्तहरूसँगको माया प्रेम गाढा र मजबुत बनाउनका लागि यो तीज मनाइन्छ।”
कार्यक्रममा उत्कृष्ट उद्यमीहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो। सफल सदस्यहरूलाई ० देखि हिरोसम्मको यात्रामा प्रेरित गर्दै सम्मानित गरियो।
अन्त्यमा, आमन्त्रित अतिथिहरूलाई सम्मान र मायाको चिनो प्रदान गरिएको थियो। कार्यक्रमको समापन सभाध्यक्ष बैजनाथ शर्माले समापन भनाइबाट सम्पन्न गरे। समापनपछि सामूहिक नृत्य र फोटोसेसन पनि गरिएको थियो।
सभाध्यक्ष बैजनाथ शर्माले समापन भाषणमा भने, “सारा नेपालका अधिकांश सदस्यहरू महिला दिदीबहिनीहरू हुनुहुन्छ। तीज उनीहरूको विशेष चाड हो। त्यसकारण, सारा नेपाली पनि माइतीको अभिभावकको रुपमा साथ दिनुपर्छ भन्ने उद्देश्यले यो कार्यक्रम निरन्तरता दिइरहेका छौँ। हाम्रो कार्यक्षेत्र रतुवामाई, सुनबर्जी र रङ्गेली हो भने तीजको कार्यक्रम रङ्गेली र सुनवारसीमा आयोजना गरिनेछ। सारा नेपाल एउटा सेवामुखी संस्था हो, जसले सदस्यहरूको स्वास्थ्य र सामाजिक सेवामा निरन्तर सहयोग गर्दै आएको छ।”
यसरी, सहारा नेपाल साकोसले २०० भन्दा बढी सहभागी उपस्थित मा “सदस्य सुनौं, सदस्य बुझौं” र तीज मिलन कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्यो।