सहकारीको १५ करोड अपचलनः कारवाहीबाट बच्न कांग्रेस नेता धनराजको श्रीमतीसँग नक्कली डिभोर्स
काठमाण्डौं मितेरी सहकारीको १५ करोड रकम हिनामिना प्रकरणले नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङ र उनकी पत्नी ज्योती गुरुङले नक्कली डिभोर्स (सम्वन्ध विच्छेद) गरेको विषय अहिले चर्चामा छ। यो विषय संसदीय समितिमा समेत पुगेको छ।

सहकारीका अध्यक्ष कुम्भराज गुरुङले केही समयअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) र संसदीय समितिमा धनराज र ज्योतीविरुद्ध उजुरी दर्ता गराएका थिए। ८२ वर्षीय गुरुङ ललितपुरको हालक्ष्मीस्थानमा कार्यालय रहेको मितेरी सहकारीको अध्यक्षसँगै कांग्रेस महासमिति सदस्यसमेत हुन्।
यद्यपी, दिएको उजुरीको विषय लामो समयसम्म बाहिर आएन। गतसाता संसदीय समितिले अध्यक्ष गुरुङलाई बयानमा बोलाएको थियो। उनका अनुसार कोभिड महामारीका समयमा ज्योतीले पटक–पटक गरेर सहकारीको १४ करोड ८१ लाख रूपैयाँ अपचलन गरेको पाईएको छ।
ज्योतिले सहकारीको रकम जितेन्द्र भण्डारी भन्ने व्यक्तिमार्फत थाइल्यान्ड पु-याएर बिटक्वाइनमा लगानी गरेको कुम्भराजले समितिमा बताएका छन्। त्यस बेला ज्योति सहकारीको महाप्रबन्धक थिइन्। उनले रकम हिनामिना गरेको कुरा सहकारीको सञ्चालक समितिलाई थाहा भएपछि बोर्ड वैठकमै बोलाएर धनराज र ज्योतिसँग छलफल भएको थियो।
उनीहरुले त्यतिबेला उक्त रकम थाइल्याण्डको बैंकक जाउआउ गर्ने एक व्यापारीलाई ऋण दिएको बताएका थिए। पैसा फिर्ता गर्ने मौखिक सहमति पनि गरे। त्यसको ४ वर्ष भइसक्दा समेत पैसा फिर्ता नभएपछि आफूले उजुरी दिन बाध्य भएको कुम्भराजको तर्क छ। उनका अनुसार धनराजले ज्योतिसँग डिभोर्स गरेको खबर सुनाएपछि झन् पैसा फिर्ता हुने अन्योल बढेको छ। ज्योति ३/४ वर्षअघि देखि नै फरार छिन्।
तर, धनराज र ज्योतिले डिभोर्स गरे पनि अझै भेटघाट भइरहने र सँगै खाने–बस्ने गरेको आरोप लाग्ने गरेको छ। ऋणको दायित्व आफूमा नसार्न मात्र उनीहरूले डिभोर्स गरेको आरोप छ। तर, धनराजले यो आरोप अस्विकार गर्ने गरेका छन्। ज्योतिले रकम अपचलन गरेको विषयमा आफुलाई थाहा नभएको उनको भनाई छ। उनले ज्योतिसँग ०७६ सालमै आफनो डिभोर्स भएको बताए। सहकारीमा काम गर्दा पटक–पटक थाइल्यान्ड जाने र १५–२० दिन हराउन थालेपछि विवाद भएको र उनले नै डिभोर्सको मुद्दा हालेको धनराजले बताए।