
फागुन ५, २०८१,
सुनसरीको दुहबीमा अहिले बस र मोटरसाइकल ठोक्किएर दुर्घटना भएको छ । दुर्घटनामा परेर इटहरी घर भएकी महिलाको मृत्यु भएको छ । मृतकका छोरा घाइते भएका छन् ।
प्रहरीका अनुसार कोशी लोकमार्गअन्तर्गत दुहबी नगरपालिका–८ हुलास फ्याक्ट्रीअगाडि आज ९सोमबार० मध्यान्ह १२ बजेतिर दुर्घटना भएको हो ।विराटनगरबाट इटहरीतर्फ जाँदै गरेको को १ ख ७०२३ नम्बरको चन्द्रमा यातायातको बसले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०२–०५६ प ५५१३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । प्रहरीका अनुसार दुर्घटनामा परेर मोटरसाइकलको पछाडि सवार सुनसरीको इटहरी उपमहानगरपालिका–५ की ५० वर्षीया चिनिमाया बुढाथोकीको मृत्यु भएको छ ।गम्भीर घाइते भएकी उनलाई उपचारका लागि मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन् दुर्घटनामा परेर मोटरसाइकल चालक इटहरी–५ का २१ वर्षीय नवराज बुढाथोकी गम्भीर घाइते भएका छन् । उनको विराटनगरस्थित विराट नर्सिङ होममा उपचार भइरहेको छ । मृतक र घाइते आमा–छोरा रहेको प्रहरीले जनाएको छ ।दुर्घटनालगत्तै प्रहरीले बसका चालक सुनसरीको धरान उपमहानगरपालिका–८ का ३९ वर्षीय बुद्धि तामाङलाई पक्राउ गरेको छ । प्रहरीले घटनाको अनुसन्धान अगाडि बढाएको छ ।