
भदौ २४, २०८२ ,,
सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा जेन–जी अर्थात् सन् १९९७ देखि २०१२ सम्म जन्मिएको पुस्ताले काठमाडौँलगायत देशका विभिन्न शहरहरूमा सोमवार ९भाद्र २३० गरेको प्रदर्शनका क्रममा भएको अप्रिय घटनाप्रति सामुदायिक रेडियो प्रसारक संघ, नेपालले गहिरो दुःख व्यक्त गरेको छ।
संघले आज प्रेस विज्ञप्ति जारी गर्दै नागरिकलाई शान्तिपूर्ण रूपमा भेला हुन, आफ्नो विचार व्यक्त गर्न र सरकारका गलत कदमको विरोध गर्न पाउने अधिकार संविधानले नै सुनिश्चित गरेको स्मरण गराएको छ। विशेषतः किशोरकिशोरी, विद्यार्थी र युवाहरू सम्मिलित प्रदर्शनमा आन्दोलनकारी र सुरक्षाकर्मीबीच भएको मुठभेटका कारण जनधनको क्षति हुनु र राज्यपक्षबाट दमन हुनु लोकतान्त्रिक समाजका लागि अस्वीकार्य रहेको संघको भनाइ छ।
संघका अनुसार सूचना दिएर गरिएको प्रदर्शनमा आवश्यक सुरक्षा सतर्कता नअपनाएको र नियन्त्रणका क्रममा भएका घटनाहरू अस्वाभाविक र दुखद बनेका छन्। प्रदर्शनका क्रममा गोली लागेर कम्तीमा १९ जनाको ज्यान गएको, ४०० भन्दा बढी घाइते भएको र रिर्पोटिङका क्रममा रहेका चार पत्रकारसमेत घाइते भएको संघले जनाएको छ।
घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय न्यायिक समिति गठन गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्ने माग गर्दै संघले आन्दोलनरतः पक्षलाई संयमता अपनाउन र सरकारले दमनको बाटो त्यागी तत्काल वार्ता मार्फत समस्या समाधान खोज्न आग्रह गरेको छ।
संघले मृतकहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ। साथै, घाइते पत्रकार र अन्य सबैको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।
राज्यद्वारा गरिने दमनात्मक कदम वा आन्दोलनरत पक्षबाट हुन सक्ने सामाजिक अराजकता दुवै लोकतान्त्रिक समाजका लागि हितकर नहुने संघले स्पष्ट पारेको छ।
विज्ञप्तिमा सम्पूर्ण मानवअधिकारकर्मी, नागरिक समाज, पत्रकार र आम नागरिकलाई लोकतान्त्रिक मूल्य–मान्यता र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा एकजुट हुन आह्वान गरिएको छ।

