
शुक्रबार, २७ भदौ २०८२,
नेपालकी पहिलो महिला प्रधानन्यायाधीशको हैसियतमा इतिहास रचिसकेकी सुशीला कार्की अहिले फेरि राष्ट्रिय राजनीति र सत्ता–सन्तुलनको केन्द्रमा आइपुगेकी छिन् ।कानुनी पृष्ठभूमि, राजनीतिक सुझबुझ र परिपक्वताका कारण उनलाई प्रधानमन्त्रीका लागि अघि सारिएको चर्चाले देशको ध्यान आकृष्ट गरेको छ ।२००९ जेठ २५ मा मोरङको विराटनगर–शंखपुरमा जन्मिएकी कार्की सात सन्तानमध्ये जेठी हुन् ।बीपी कोइरालाको परिवारसँग नजिकको सम्बन्ध राख्ने उनको परिवार प्रजातान्त्रिक आन्दोलनमा सक्रिय रहँदै आएको छ ।उनका पति दुर्गा सुबेदी प्रजातान्त्रिक सेनानीका रूपमा परिचित छन् ।कार्कीले महेन्द्र मोरङ क्याम्पसबाट बीए र भारतको बनारस हिन्दू विश्वविद्यालयबाट राजनीतिशास्त्रमा एमए गरेकी हुन् । त्यसपछि त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक हासिल गरी शैक्षिक यात्रा अघि बढाइन् ।२०४२ देखि २०४६ सम्म धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसमा प्राध्यापन गरेकी उनले २०३५ सालदेखि वकालत सुरु गरेकी थिइन् ।वरिष्ठ अधिवक्ता हुँदै २०६५ सालमा सर्वोच्च अदालतको अस्थायी न्यायाधीश बनेकी कार्की २०६७ मा स्थायी न्यायाधीश नियुक्त भइन् ।२०७३ सालमा देशकै पहिलो महिला प्रधानन्यायाधीश बनेकी उनले न्यायपालिकामा भ्रष्टाचारविरुद्ध शून्य सहिष्णुताको नीति अपनाइन् ।अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको ऐतिहासिक फैसलादेखि मन्त्रीसन्त्री जयप्रकाश गुप्तालाई दोषी ठहर गर्नेसम्म, उनका निर्णयहरूले सधैँ बहस र चर्चा बटुल्यो ।उनलाई राजनीतिक शक्तिहरूले असहज बनाउन खोज्दा पनि उनले निडरतापूर्वक आफ्नो भूमिकामा अडान लिएर चर्चा कमाइन् ।२०७४ वैशाखमा तत्कालीन सत्ता गठबन्धनले संसदमा महाभियोग प्रस्ताव दर्ता गरे पनि सर्वोच्चको अन्तरिम आदेशले त्यसलाई निष्प्रभावी बनायो । महाभियोग असफल भएपछि उनी पुनः आफ्नो पदमा फर्किइन् ।कार्कीको निष्पक्षता, दृढता र कानुनी परिपक्वताले आज फेरि उनलाई राष्ट्रिय राजनीतिमा चर्चाको केन्द्रमा ल्याएको छ ।युवाहरूको रोजाइमा परेकी उनी ‘सिद्धान्तमा अडिग’ नेताको रूपमा प्रस्तुत हुँदैछिन् । जङ्गी अड्डादेखि सिंहदरबारसम्म उनको नाम घन्किन थालेपछि मुलुक फेरि इतिहास निर्माणको मुखमा उभिएको छ ।
