
सोमबार, २६ मंसिर २०७९,
दलहरुले समानुपातिक सांसदको सूची बुझाएपछि निर्वाचन आयोगले सामानुपातिक सांसदहरुको नाम सार्वजनिक गर्ने तयारी गरेको छ । आज समानुपातिक प्रणालीतर्फबाट विजयी उम्मेदवारहरुको सूची सार्वजनिक गर्ने तयारी गरेको हो ।
निर्वाचन आयोगको राजनीतिक दल शाखाका उपन्यायाधिवक्ता तथा समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेले समानुपातिक सांसदहरुको सूची सकेसम्म आजै सार्वजनिक गर्ने तयारी भएको बताए । समय अपुग भएमा भोलि मंगलबार सूची सार्वजनिक गरिनेछ ।
दलहरुले समानुपातिक निर्वाचनतर्फ देशभरबाट प्राप्त मतका आधारमा आयोगले सिट बाँडफाँट गर्दछ । नेपाली कांग्रेसले ३२, नेकपा एमालेले ३४, नेकपा माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राप्रपाले ७ तथा जसपा र जनमत पार्टीले ५–५ सिट समानुपातिकतर्फ पाएका छन् ।
निर्वाचन अघि नै दलहरुले बुझाएको उम्मेदवारको बन्दसूचीभित्रैबाट समावेशी सिद्धान्तका आधारमा समानुपातिक सांसद छनोट गरिन्छ । गत शनिबार दलहरुले आफूले पाएको सिट संख्या अनुसार सांसदहरुको सूची निर्वाचन आयोगमा बुझाएका थिए ।