
सोमबार, २६ मंसिर २०७९
प्रदेश १ को ठूलो दल नेकपा एमालेमा दुई जना नेताले संसदीय दलको नेताको आकाक्षी देखिएका छन् ।
९३ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा नेकपा एमालेले प्रत्यक्ष २५ र समानुपातिक १५सहित ४० सिट जितेको छ । बहुमतका लागि आवश्यक संख्या भन्दा सात सिटले पछाडि रहेको एमालेमा हिक्मतकुमार कार्की र तिलकुमार मेन्याङ्बो संसदीय दलको नेताको आकाक्षी देखिएका हुन् ।
कार्की झापा क्षेत्र नम्बर ५(२)बाट दोस्रो पटक निर्वाचित भएका हुन् । मेन्याङ्बो ताप्लेजुङको प्रदेशसभा १ बाट निर्वाचित भएका थिए । पार्टीको जिम्मेवारीमा मेन्याङ्बो भन्दा कार्की माथि छन् । संसदीय दलको नेता हुँदै मुख्यमन्त्री बन्ने दौडमा रहेका कार्की एमाले स्थायी कमिटी सदस्य हुन् । मेन्याङ्बो पोलिट व्यूरो सदस्य हुन् ।
मेन्याङ्बो २०५६ सालमा ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । उनी यो पटक पनि प्रतिनिधिसभा सदस्यको आकाक्षी थिए । योगेश भट्टराईले संघको टिकट पाएपछि उनी प्रदेशमा उठेका थिए । कार्की भने २०७४ सालमा पहिलो पटक प्रदेशसभा सदस्य निर्वाचित भएका थिए ।
संसदीय दलको नेता बन्नका लागि कार्कीले छलफल र भेटघाट तिब्र बनाएका छन् । बहुमत जुटाउनका लागि उनले अन्य दलसँग पनि छलफल गरिरहेका छन् ।
दलको नेताको आकाक्षी मेन्याङ्बो पार्टी केन्द्रको निर्देशन अनुसार चल्ने बताउँछन् । पार्टीको जिम्मेवारीमा कार्की सिनियर भएपनि आफू पनि आकाक्षी रहेको उनले बताए । ‘सबै नतिजा सार्वजनिक भइसकेपछि सहमतिको आधारमा अघि बढ्छौं,’ उनले भने,‘ पार्टी भित्र छलफल हुन्छ ।’
एमाले भित्र कार्कीलाई मन नपराउने नेताहरुले मेन्याङ्बोलाई अघि सारेका हुन् । मेन्याङ्बोले भने सशक्त रुपमा उभिएका छैनन् । कार्की सिनियर नेता भएका कारण आफ्नो सम्भावना कम भएको उनको बुझाई छ । कार्की एमाले अध्यक्ष केपी शर्मा ओलीसँग नजिक पनि छन् ।
२०७४ सालको जस्तो पार्टीमा दुई धार नभएका कारण ससदीय दलको नेता छनोटका लागि यो पटक चुनाव हुने अवस्था कम छ ।
प्रदेश १ मा ५६ जना प्रत्यक्ष र ३७ जना समानुपातिक सांसद निर्वाचित हुन्छन् । ५६ मध्ये एमालेले २५, नेपाली कांग्रेसले १७, माओवादी केन्द्रले ९ एकिकृत समाजवादी पार्टीले ३ र राप्रपाले दुई सिट जितेको छ । समानुपातिक तर्फ एमालेले १५, कांग्रेसले १२, राप्रपा र माओवादी केन्द्रले ४–४, जसपा र नेकपा एकिमृत समाजवादी पार्टीले १–१ सिट जितेका छन् ।