
मङ्गलबार, २७ मंसिर २०७९,
मोरङ सुनसरीका उद्योगी व्यावसायीले प्रतिकूल बैंकिङ नीति र चर्को ब्याजदर विरुद्ध निर्णयक आन्दोलन गर्ने चेतावनी दिएका छन् । चर्काे ब्याजदरका कारण पलायन हुन लागेको भन्दै मोरङ–सुनसरी औद्योगिक क्षेत्रमा उद्योगधन्दा चलाइरहेका उद्योगी व्यवसायीहरूले आन्दोलनको तयारीको बताएका हुन् ।
विगतमा पनि बैंकको चर्को ब्याजदरविरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिएका उद्योगी व्यवसायीहरूले चार दिनभित्र निर्णायक आन्दोलन घोषणा गर्ने बताए । सरकारको प्रतिकूल नीतिका कारण मुलुकभरका उद्योगी व्यवसायीहरू पीडित बन्नु परेको भन्दै आन्दोलनको विकल्प नभएको निष्कर्षमा उनीहरू पुगेका छन् ।
राष्ट्र बैंकले ४.४ प्रतिशतको स्प्रेडदरलाई मौद्रिक नीतिको प्रथम समीक्षा अवधिमा ४ प्रतिशतमा झारे पनि आर्थिक क्षेत्रले त्यसबाट कुनै राहत महसुस नगरेको उद्योगी व्यवसायीहरूले बताए । ‘बैंकहरू घोडामा चढेर सुट टाई लगाएर हातमा कलम बोकेर हिँडेको लुटेरा जस्तो भएका छन्,’ मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले भने,‘अब निर्णायक आन्दोलनको तयारी लागेका छौं ।’
नेपाल उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेले पनि आगामी आन्दोलन अन्तिम आन्दोलन हुने गरी तयारी अघि बढाइएको बताए । उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष प्रदीप मुरारकाले आन्दोलनको विकल्प नभएको बताए ।
नेपाल अटोमोबाइल्स डिलर्स एशोसिएसन (नाडा) मोरङका अध्यक्ष संजय श्रेष्ठले अटोमोबाइल्स क्षेत्रले आन्दोलन नै सुरु गरिसकेको उल्लेख गरे । घरेलु तथा साना उद्योग महासंघ प्रदेश १ का अध्यक्ष चेतन निरौलाले बैंकको चर्को ब्याजदरका कारण सबैभन्दा बढी साना उद्योगहरू प्रभावित भएको दाबी गरे ।
मोरङ व्यापार संघका उपाध्यक्ष अनिल साहले विद्यमान ब्याजदरमा कुनै पनि उद्योग व्यवसाय सञ्चालन हुन नसक्ने बताए । उनले उद्योगी व्यवसायीहरूले आफ्नो अस्तित्वको रक्षाका लागि भए पनि आन्दोलनमा उत्रिनुपर्ने सुझाव दिए ।
निर्माण व्यवसायी पुष्पराज भट्टराईले बैंकहरूले व्यवसाय र उद्योगधन्दामा ऋण लगानी गर्नुभन्दा राज्यलाई नै ऋण दिने मनस्थितिमा पुगेकोले अब आन्दोलनबाहेक कुनै विकल्प नभएको बताए । होटल व्यवसायी सुरज श्रेष्ठले सरकारविरुद्ध बृहत् आन्दोलनको तयारी अघि बढाउन सहयोग गर्ने बताए ।