मंसिर २७, २०७९

विराटनगरलाई डुबानबाट मुक्त गराउन विराटनगर महानगरपालिकाले सम्भाव्यता अध्ययन सुरु गरेको छ ।
महानगरले डुबान समस्याको दीर्घकालीन समाधान खोज्न एसियाली विकास बैंक (एडिबी)को सहयोगमा वर्षात्को पानीले हुने डुबान व्यवस्थापनका लागि सम्भाव्यता अध्ययन सुरु गरेको हो ।
हरेक वर्षायाममा वर्षाको पानी सहज निकास नहुँदा विराटनगर डुबानमा पर्ने गरेकोले महानगरलाई वैज्ञानिकरूपमै डुबानबाट मुक्त गर्न एडिबीको सहयोगमा सम्भाव्यता अध्ययन सुरु गरेको विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले जानकारी दिए ।
प्रमुख कोइरालाको नेतृत्वमा सोमबार अध्ययन टोलीले महानगरका डुबानग्रस्त विभिन्न वडाको स्थलगत निरीक्षण गरेर जम्ने पानीलाई कसरी सिङ्घिया र केसलिया खोलामा लगेर व्यवस्थापन गर्न सकिन्छ भनेर आरयुडिपी प्रोजेक्टअन्तर्गतको स्मेक डिएमले वर्षातको पानी व्यवस्थापनका लागि सम्भाव्यता अध्ययन सुरु गरेको हो ।
त्यस्तै पुराना पैनीहरू घोगा, बस्ता, धुदुवा, च्याङबारी, मर्लीखोलालगायतको पानीलाई पनि मूलखोलामा पुर्याएर वर्षाको पानीलाई व्यवस्थापन गर्ने महानगरको योजना छ ।