
नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार बाहिर रहेको एकीकृत समाजवादी पार्टीलाई सरकारमा ल्याउने पहल सुरु गरेका छन् । नेपाली कांग्रेससँगको गठबन्धन तोडेर सात दलको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले माधवकुमार नेतृत्वको नेकपा एसलाई सरकारमा ल्याउने पहल सुरु गरेका हुन् ।
उनले जनता समाजवादी पार्टीलाई पनि सरकारमा समेट्ने तयारी गरेका छन् । यसका लागि प्रचण्डले आज एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरे ।
ललितपुरस्थित प्रचण्डको एक नातेदारको निवासमा भएको भेटमा नेपाल र यादवको पार्टीलाई समेत समेटेर मन्त्रिपरिषद विस्तारबारे छलफल भएको थियो ।
कांग्रेससहितको गबठन्धन तोडेर एमालेसँग गठबन्धन गरेर प्रचण्डले सरकारको नेतृत्व लिएको भन्दै एकीकृत समाजवादी असन्तुष्ट छ । अध्यक्ष नेपालले प्रचण्डले धोका दिएको बताउँदै आएका छन् । प्रचण्डले असन्तुष्ट पक्षलाई फकाएर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका हुन् ।
नेकपा माओवादी केन्द्रका एक नेताका अनुसार पुस २५ गते संसद अधिवेशन सुरु भएपछि मन्त्रिपरिषद विस्तार हुनेछ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड कांग्रेस नेतृत्वको गठबन्धन तोडेर नेकपा एमालेसहितका दलको समर्थनमा पुस १० गते प्रधानमन्त्री नियुक्त भएका थिए