
9:20 AM 1/13/2023
प्रदेश १ को सरकारमा नेकपा माओवादी केन्द्र सहभागि हुँदैछ । आलोपालोमा सहमति नभएसम्म सरकारमा नजाने अडान लिएको नेकपा माओवादी केन्द्र प्रदेश १ लाई केन्द्रले सहभागी हुन निर्देशन दिएपछि सरकारमा सहभागी हुने भएको हो ।
आज नै नेकपा माओवादी केन्द्रलाई सरकारमा सहभागि गराउने तयारी छ । माओवादी केन्द्रबाट आज दुई जना मन्त्री सरकारमा सहभागि हुने सम्भावना छ । माओवादी केन्द्रले तीन जनालाई पठाउने तयारी गरेको थियो । तर मन्त्रीको नाम छनोट गर्ने विषयमा विवाद भएपछि दुई जनालाई मात्रै पठाउन लागेको हो । नेताहरुका अनुसार माओवादी अध्यक्ष प्रचण्डका ज्वाईं जीवन आचार्यको मन्त्री पद कन्फर्म छ । उनीसँगै आज दुर्गा चापागाई पनि मन्त्री बन्दैछन् ।
माओवादी केन्द्रको प्रदेश १ समितिका पदाधिकारी तथा संसदीय दलका नेतासहित सहभागी बैठकले मन्त्रीको छनौट गर्न प्रदेशका माओवादी इन्चार्ज राम कार्की, संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र प्रदेश १ अध्यक्ष हर्कबहादुर नेम्वाङ ९मिक्सो० रहेको समिति गठन गरेको थियो । सोही समितिको सिफारिसका आधारमा माओवादीबाट मन्त्री बन्नेछन् ।
माओवादी केन्द्रले प्रदेश १ मा रहेका ९ वटामध्ये ३ मन्त्रालय पाउने सम्भावना छ । माओवादी स्रोतका अनुसार सरकारमा पठाउने नाममा पहिलो नम्बरमा तेह्रथुमका दुर्गाप्रसाद चापागाईँ रहेका छन् । दोस्रो नम्बरमा मोरङका जीवन आचार्य छन् ।
चापागाईँलाई पर्यटन, वन तथा वातावरण मन्त्रालय र आचार्यलाई पूर्वाधार विकास तथा भौतिक योजना मन्त्रालयको जिम्मेवारी पाउने सम्भावना छ । माओवादीले अर्को मन्त्रालय पाएको खण्डमा उक्त मन्त्रालयमा आदिवासी जनजातिबाट उदयपुरका राजेन्द्र किराती वा नारायण बुर्जा मगरलाई पठाउने सम्भावना छ ।
नेकपा एमालेले भने मन्त्रीमण्डलमा माओवादीले पठाएका मन्त्रीसँगै तत्कालका लागि एक जना मन्त्री बनाउने तयारी गरेको छ । सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारीलाई मन्त्री बनाउने तयारी गरेको हो । नयाँ मन्त्रीहरुको शपथग्रहण आज विहान गरिनेछ ।
यसअघि नै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एमालेबाट तिलकुमार मेन्याङ्बो, राप्रपाबाट भक्तिप्रसाद सिटौला र जसपाबाट निर्मला लिम्बूलाई मन्त्री नियुक्त गरेका थिए । नयाँ मन्त्रीहरु नियुक्त भएसँगै मन्त्रालयको भागबण्डा पनि टुंगो लगाउने तयारी रहेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।