
१७ माघ २०७९
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सञ्चारमाध्यमलाई राष्ट्रिय सेवामूलक उद्योग सरह मान्यता दिइ संरक्षण र संवद्र्धन गर्ने सरकारको नीति रहेको बताएका छन् ।मंगलवार नेपाल टेलिभिजनको ३८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन ।
उनले सञ्चारमाध्यमको व्यावसायिक र संस्थागत विकासका लागि राष्ट्रिय सेवामूलक उद्योग सरह मान्यता दिइ संरक्षण र संवद्र्धन गर्ने सरकारको नीति रहेको बताए ।उनले सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक र प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्न प्रतिबद्ध रहेको उल्लेख गरे । आमसञ्चार माध्यममा सबै वर्ग, क्षेत्र, जाति, भाषा, समुदायको पहुँच बढाउने गरी समावेशी लोकतान्त्रिक सूचना तथा सञ्चार नीति जारी गरिने पनि उनको भनाइ छ ।प्रधानमन्त्री प्रचण्डले सरकार आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्न प्रतिबद्ध रहेको बताए । उनले पत्रकार र सञ्चारमाध्यमको पेसागत र भौतिक सुरक्षाको प्रत्याभूति गरिने दाबी समेत गरे । त्यस्तै पत्रकारको स्वास्थ्य तथा दुर्घटना बीमाको व्यवस्था गरिने पनि उनले उल्लेख गरे ।प्रधानमन्त्री प्रचण्डले श्रमजीवी पत्रकारका लागि निर्मित कानुनहरूको प्रभावकारी कार्यान्वयन गरिने र सूचनाको हक प्रदान गर्ने कुरा राज्यको दायित्वको रूपमा स्थापित गरिने बताए ।वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकता निर्धारण गरेर अगाडि बढेको उनले जिकिर गरे । लोकतन्त्रको सुदृढीकरण, संविधानको रक्षा, अर्थतन्त्रको सुधार र जनसेवा सरकारको प्रमुख कार्यभार रहेको उल्लेख गर्दै उहाँले सरकारको कार्यभारलाई व्यवस्थितरूपले सम्प्रेषण गर्न आग्रह गरे ।प्रधानमन्त्री प्रचण्डले सूचना तथा समाचार सम्प्रेषणमा नेपाल टेलिभिजनले खेलेको भूमिका महत्त्वपूर्ण रहेको भन्दै प्रशंसा समेत गरे । उनले नेपाल टेलिभिजन सबै समुदायको अपनत्व हुने गरी अगाडि बढेको बताए ।