
१ फागुन २०७९
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नेपालका सामुदायिक रेडियोहरूको समस्या समाधानका लागि कानुनी र व्यवस्थापकीय रूपमा पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।सामुदायिक रेडियोलाई तल पर्ने गरी कुनै पनि ऐन, कानुन नबनाइने उहाँको भनाइ छ ।१२ औँ विश्व रेडियो दिवसको अवसरमा युनेस्को, अमार्क एसिया प्यासेफिक र इनडिजिनियस मिडिया नेटवर्कको सहकार्यमा अकोराबले आज ललितपुरमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री पौडेलले यस्तो बताउनुभयो ।संविधासँग बाझिने गरी कानुन बनाउन नमिल्ने भन्दै सामुदायिक रेडियोको सन्दर्भमा संघीय अधिकारसँग बाझिने गरी कुनै अभ्यास गर्न नमिल्ने उहाँले बताउनुभयो ।नबाझिने गरी कानुन बनाउनका लागि पहल गर्ने उल्लेख गर्दै सामुदायिक रेडियोको भूमिका प्रभावकारी हुने गरी कानुन निर्माण गर्न अग्रसरता लिने धारणा राख्नुभयो ।सरकारले सामुदायिक रेडियोलाई पछि पार्ने नीति लिँदैन र सामुदायिक रेडियो पनि पछि पर्नु हुँदैन । जेजति समस्या छन्, समाधानका लागि छलफल गरौँ आउनुस् । यसका लागि दिवस कुरिरहनुपर्दैन ।’ मन्त्री पौडेलले भन्नुभयो ।रेडियोको उपयोगिता कहिल्यै पनि नसकिनेमा जोड दिँदै उहाँले सञ्चारमाध्यमका नयाँ स्वरुप विकास भए पनि रेडियोको भविष्य उज्यालो रहेको विचार राख्नुभयो ।विगतका महत्वपूर्ण आन्दोलन र परिवर्तनमा सामुदायिक रेडियोको भूमिका महत्वपूर्ण रहेको उहाँको भनाइ छ ।आज हामी जुनसुकै ठाउँमा पुगेको भए पनि आन्दोलनको उपलब्धिमा सामुदायिक रेडियोको भूमिका स्तुत्य र स्वर्णिम अक्षरले लेखिएको छ । भविष्यमा पनि स्वर्णिम अक्षरले लेख्ने गरी काम गर्न शुभकामना छ ।’ मन्त्री पौडेलले थप्नुभयो ।