
बिहीबार, ४ जेठ २०८०
साविक बिजेता रियल मड्रिडमाथि सानदार जित निकाल्दै इंग्लिस क्लब म्यानचेष्टर सिटी युरोपियन च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।
१४ पटकको च्याम्पियन रियल मड्रिडलाई सेमिफाइनल दोस्रो लेगमा ४– ० ले पराजित गर्दै सिटी फाइनलमा प्रवेश गरेको हो ।
पहिलो लेग १–१ को बराबरी खेलेको सिटीले समग्रमा ५– १ को नतिजा निकाल्दै दोस्रो पटक फाइनलमा स्थान बनाएको हो । यसअघि २०२१ मा फाइनल पुगेको सिटी चेल्सीसँग पराजित भएको थियो ।
सिटीले अब उपाधिका लागि इटालियन क्लब इन्टर मिलानसँग जुन १० मा प्रतिस्पर्धा गर्नेछ ।
रियलको मैदानमा भएको सेमिफाइनलको पहिलो लेगमा सिटीले १–१ को बराबरी खेलेको थियो । घरेलु मैदान इतिहाड स्टेडियममा भएको दोस्रो लेगमा सिटीले सानदार प्रदर्शन गर्दै एकपक्षिय जित निकाल्यो ।
सिटीको जितमा बर्नाडो सिल्भाले दुई तथा म्यानुयल एकान्जी र जुलियन अल्भारेजले समान एक गोल गरे । सिटीले पहिलो र दोस्रो हाफमा समान दुई गोल गर्न सफल भएको थियो ।खेलको २३औं मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई १–० को अग्रता दिलाए । ३७ औं मिनेटमा सिल्भाले दोस्रो गोल गरेपछि सिटीले पहिलो हाफमा २–० को अग्रता बनायो । ७६औं मिनेटमा म्यानुयल एकान्जीले गोल गरे । इन्ज्युरी समयमा परिवर्तित खेलाडी अल्भारेजले गोल गर्दै सिटीलाई सानदार जित दिलाए । सिटी यसअघि च्याम्पियन्स लिगमा दुई पटक सेमिफाइनलमा रियलसँग पराजित भएको थियो ।