
शुक्रबार, जेठ ०५, २०८०
इग्लिस प्रिमियर लिग टोली न्युकासल युनाइटेडले च्याम्पियन्स लिगमा छनोट नजिक पुगेको छ । गएराति ब्राइटनलाई ४–१ गोल अन्तरले पराजित गर्दै न्युकासल अर्को सिजनको च्याम्पियन्स लिगको छनोट नजिक पुगेको हो । घरेलु मैदानमा जितपछि न्युकासल तेस्रो स्थानमा छ । शीर्ष चार टोली च्याम्पियन्स लिगमा छनोट हुनेछन् लिगका खेल सकिनै लाग्दा न्युकासले च्याम्पियन्स लिगमा छनोटको सम्भावना बलियो बनाएको हो । डेनिस उनडाभको आत्मघाती गोलबाट २२औं मिनेटमा अग्रता लिएको न्युकासलका लागि डान बर्नले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै अग्रता दोब्बर बनाए । उनडाभले ५१औं मिनेटमा गोल गर्दै ब्राइटनलाई खेलमा फर्काउने प्रायस गरेका थिए । ८९औं मिनेटमा कलुम विल्सन र खेलको इन्जुरी टाइममा ब्रुनो गुइमारेसले गोल गरेपछि न्युकासलले सहज जित निकाल्यो ।
जितपछि न्युकासलले ३६ खेलबाट ६८ अंक जोड्दै तेस्रो स्थानमा छ । लिगमा दुई खेल खेल्न बाँकी हुँदा न्युकासलले पाँचौ स्थानको लिभरपुलसँग ४ अंकको अग्रता बनाएको छ । न्युकासलले अब बाँकी दुई मध्ये एक खेल जितेमा शीर्ष चारमा पर्नेछ । यदि शनिबार लिभरपुल एस्टन भिल्लासँग पराजित भए पनि न्युकासलको शीर्ष चारमा स्थान पक्का हुनेछ ।