
शनिबार, ६ जेठ २०८०
विराट बर्जु हाफ म्यारनथ प्रतियोगितामा नेपाली सेनाका खेलाडी नरेन्द्रसिंह रावल प्रथम भएका छन् । कोशी प्रदेश सरकार पर्यटन, वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको विराट–बर्जु हाफ म्याराथन प्रतियोगिताको पुरुष तर्फ नेपाली सेनाका रावल प्रथम भएका हुन् ।महिला तर्फ नेपाल प्रहरीकी रेखा विष्ट प्रथम भएकी छन् ।रावलले विराट राजाको दरबारस्थल विराटनगरको भेडियारीबाट सुनसरीको बर्जु तालसम्मको २३ किलोमिटर दूरी १ घण्टा १७ मिनेट २८ सेकेण्डमा पुरा गरे ।म्याराथनमा नेपाली सेनाका सुशीलकुमार शाही दोस्रो भए । उनले १ घण्टा १८ मिनेटमा दुरी पार गरे । मोहनदेव जोशी तेस्रो बने । उनले उक्त दूरी १ घण्टा १८ मिनेट ३३ सेकेण्डमा पुरा गरेका थिए । नेपाली सेनाका होमलाल श्रेष्ठ चौथो भए । उनले १ घण्टा १९ मिनेट ३९ सेकेण्डमा दुरी पार गरे । नेपाली सेनाकै श्रीकाश राई पाँचौं भए । सशस्त्र प्रहरीका किरणसिंह बोगटीले छैटौं भए । प्रतियोगितामा पुरुषतर्फ प्रथम रावलले १ लाख रुपैयाँ, द्वितीय हुने शाहीले ७५ हजार रुपैयाँ, र तृतीय हुने जोशीले ५० हजार रुपैयाँ पुरस्कार पाएका छन् । पुरुष तर्फको यो प्रतियोगितामा १०१ जनाले प्रतिस्पर्धा गरेका थिए । महिलातर्फको ५ किलोमिटर म्याराथनमा नेपाल प्रहरीकी रेखा विष्ट प्रथम भएकी छिन् । उनले १९ मिनेट ४ सेकेण्डमा निर्धारित दूरी पार गरिन् । सशस्त्र प्रहरीकी सिमा थारु चौधरी दोस्रो भइन् । उनले उक्त दूरी पार गर्न १९ मिनेट ११ सेकेण्ड लगाइन् ।नेपाल प्रहरीकी तिर्सना कुमाल तेस्रो भइन् । विराटनगरकी अंशु मण्डलले चौथो स्थान प्राप्त गरिन् । प्रतियोगिताकी प्रथम खेलाडी रेखा विष्टले २५ हजार, द्वितीय हुने चौधरीले २० हजार र तृतीय कुमालले १५ हजार रुपैयाँ राशीको पुरस्कार प्राप्त गरेकी छिन् । प्रतियोगितामा २९ जना महिला सहभागी थिए । विजयी धावकलाई कोशी प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्री जीवन आचार्यले पुरस्कार प्रदान गरे । खेलकुद पर्यटनको माध्यमबाट कोशी प्रदेशको राजधानी वरपरका दुई ऐतिहासिक पर्यटकीय क्षेत्रको प्रवर्धन गर्ने उद्देश्यले खुला हाफ म्याराथन प्रतियोगिता आयोजना गरिएको उनले बताए ।