
१७ पुस २०७९,
राहदानी, नागरिकता र राष्ट्रिय परिचय पत्र वितरणलाई सहज बनाउन गृहमन्त्रालयले विज्ञ टोली गठन गर्ने भएको छ । गृह मन्त्रालय मातहतका कार्यालयले प्रदान गर्ने सुविधा प्राप्त गर्न लामो र झन्झटिलो प्रक्रिया भएकोले सहज बनाउन गृह मन्त्रालयले विज्ञ टोली गठन गरेको हो ।
सूचना प्रविधि विज्ञहरूको टोली गठन गरेर अध्ययन सुरु गरिएको गृहमन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले जानकारी दिए । प्रवक्ता पोखरेलका अनुसार विज्ञको टोलीले अध्ययन सुरु गरिसकेको छ । अध्ययन प्रतिवेदनका आधारमा समस्याको समाधानतर्फ लागिने उनले बताए ।
मन्त्रालयको जिम्मेवारी सम्हालेपछि गृहमन्त्री रवि लामिछानेले राहदानीलगायत महत्वपूर्ण परिचय पत्र वितरणलाई सहज बनाउने र लाइन लाग्नु पर्ने बाध्यता हटाउने बताएका थिए । शनिबार मात्रै प्रधानमन्त्री प्रचण्डसँग भेट गरी नागरिकलाई सहज रुपमा सेवा दिनका लागि विज्ञको टोली गठन गरिएको विषयमा छलफल गरेका थिए ।