
सोमबार, २२ जेठ २०८०
नेपालले मलेसियाविरुद्धको पाँच ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला ३–२ ले जितेको छ । अनुभवी खेलाडी सीता रानामगर र रुविना क्षेत्रीले जिम्मेवारीपूर्ण ब्याटिङ गरेपछि नेपालले आइतबार पाँचौं तथा अन्तिम खेलमा मलेसियाको महिला राष्ट्रिय टोलीलाई ३ विकेटले पराजित गर्यो ।नेपालले टस जितेपछि ब्याटिङको निम्ता पाएको मलेसियाले क्वालालम्पुरस्थित वाईएसडी–यूकेएम ओवलमा निर्धारित २० ओभरमा ५ विकेट गुमाई १ सय ९ रन बनायो । यस शृंखलामा मलेसियाको यो उच्च स्कोर हो । तर नेपालले ४ बल अगाडि नै खेल जितेर शृंखला आफ्नो पक्षमा पारेको हो ।सीता ३७ बल खेल्दै ६ चौका प्रहार गरी ३४ रन बनाई प्लेयर अफ द म्याच बनिन् । यस शृंखलामा नेपाली खेलाडीको यो उच्च स्कोर पनि हो । कविता कुँवर ४, इन्दु बर्मा ५ र सम्झना खड्का शून्यमा आउट भएको अवस्थामा सीता र कप्तान रुविनाले नेपालको इनिङ्स उकासेका थिए । रुविनाले ३० बल खेली ३ चौकासहित २३ रन बनाइन् ।