
मंगलबार, जेठ २३, २०८०
पहिलो सिजनमै चर्च ब्वाइज युनाइटेडले शहीद स्मारक ए डिभिजन लिगको उपाधि जितेको छ । मंगलबार दशरथ रंगशालामा थ्रीस्टारसँग गोलरहित बराबरी खेलेको चर्च ब्वाइजले लिगको एक खेल अघि नै उपाधि जितेको हो ।घरेलु फुटबलमा सी डिभिजन छनोट भएदेखि ए डिभिजनसम्म लगातार च्याम्पियन बन्ने इतिहास चर्च ब्वाइजले बनाएको छ । यसअघि मनाङ मस्याङ्दी क्लबले डी देखि ए डिभिजनसम्म लगातार च्याम्पियन बनेर इतिहास बनाएको थियो । २०३९ देखि २०४३ सालसम्म मानङले डी, सी, बी र ए डिभिजन लिग जितेको थियो ।चर्च ब्वाइज २०६६ सालमा स्थापना भएको क्लब हो । २०७६ सालमा सी डिभिजन छनोटको उपाधि जितेको थियो । २०७७ मा सी डिभिजन, २०७८ मा बी डिभिजनको उपाधि जितेको चर्च ब्वाइजले यो सिजनको ए डिभिजन लिगको उपाधि जितेको हो । लगातार दुईपल्टको साविक विजेता मछिन्द्रलाई पछि पारेर उपाधि जितेको हो ।मंगलबारको खेलमा बराबरीपछि डवल राउण्ड रोविन प्रणालीमा सञ्चालित लिगमा चर्च ब्वाइजले २५ खेलबाट ४५ अंक बनाएको छ । २ खेल खेल्न बाँकी मछिन्द्रको ३९ अंक छ ।चर्च ब्वाइजले लिगको २५ खेलमा १२ जित, ८ बराबरी र ४ हारको नतिजा निकालेको छ । चर्च ब्वाइजसँगको बराबरी खेलेका थ्री स्टारको २९ अंक जोडेको छ ।