
बुधबार, आषाढ १३, २०८०
नेपालले थाइल्यान्डमाथि २ सय २५ रनको विजय हात पार्दै एसीसी यू(१६ इस्ट जोन कप क्रिकेटको सेमिफाइनल प्रवेश गरेको छ । २ सय ७० रनको विजय लक्ष्य लिएर आएको थाइल्यान्ड १३।२ ओभरमा ४४ रनमै अलआउट भयो ।मलेसियामा भइरहेको प्रतियोगितामा नेपालको यो पहिलो खेल थियो । तर समूह ‘ए’ मा रहेको थाइल्यान्ड दुवै खेलमा पराजित भएपछि नेपाल र मलेसिया सेमिफाइनल पुगेका हुन् । थाइल्यान्ड आफ्नो पहिलो खेलमा मलेसियासँग पराजित भएको थियो । बांगीस्थित वाईएसडी यूकेएम ओभल मैदानमा नेपालसामु थाइल्यान्ड निकै फिका देखिएको थियो । सन्तोष यादवले ५ विकेट लिए । उनले ३।२ ओभरमा १ मेडन राख्दै ८ रनमात्र खर्चे । अशोक धामीले ३ ओभरमा २ मेडन राख्दै ४ रन खर्चेर ३ र कप्तान अविषेक तिवारीले ४ ओभरमा १ मेडन राख्दै २१ रन खर्चेर २ विकेट लिए । यसअघि ओपनिङ जोडि निरज यादव र सुर्यांशु कोइरालाले शतकीय साझेदारी गरेपछि टस जितेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाई २ सय ६९ रन बनाएको थियो । निरज र सूर्यांशुले पहिलो विकेटमा १३ ओभरमा १ सय २६ रन जोड्दै नेपालको विशाल योगफलको आधार बनाएका थिए । निरजले ४३ बलमा ७४ रन बनाए । २१ बलमै अर्धशतक पूरा गरेका उनले कुल ७ चौका र ६ छक्का प्रहार गरे । सूर्यांशुले ५५ बल खेली ३ चौकासहित ४० रन बनाए ।