
मङ्गलबार, १६ साउन २०८०
उच्च अदालतले जिल्ला अदालतको फैसला उल्टाएसँगै विगत सात महिनादेखि हिरासतमा रहेका लालबहादुर बिक रिहा हुने भएका छन् । इजाजतबिना बैंक तथा वित्तीय कारोबार र ठगी गरेको आरोपमा जेल परेका बिकलाई उच्च अदालत विराटनगरले सफाइ दिएको हो । ठगी तथा बैंकिङ कसुर मुद्दामा उच्च अदालत विराटनगरले लालबहादुर बिकलाई निर्दोष ठहर गरेको छ । मुद्दामा दोषी ठहर्याएउने सुनसरी जिल्ला अदालतको आदेशलाई उल्ट्याउँदै विश्वकर्मालाई उच्च अदालत विराटनगरले सफाइ दिएको हो । उच्च अदालतका न्यायाधीशद्वय विपुल न्यौपाने र मिलनकुमार राईको इजलासले मुद्दा सुरु भएको सुनसरी जिल्ला अदालतको आदेश उल्टि गरेको हो । तरहरास्थित सिंहदेवी ज्वेलर्सका मालिक दीपक परियारको आदेशअनुसार मजदुरको रूपमा काम गरिरहेका लालबहादुरबाट जिल्ला अदालतले झण्डै ५ करोडसमेत भराउन आदेश दिएको थियो । उच्च अदालतमा पटकपटक मुद्दा पेसीमा चढे पनि धेरै पटक हेर्न नमिल्ने र स्थगित हुने गरेको यो मुद्दामा आज फैसला भएको हो । लालबहादुर २०७३ सालमा इटहरी उपमहानगरपालिका( २०, तरहराको सिंहदेवी ज्वेलर्समा काम गर्न गएका थिए । त्यसबेला उनको तलब २१ हजार रुपैयाँ थियो । आफ्ना मालिकको आदेश मानेकै कारण लालबहादुर जेल परेका थिए । मालिकको आदेश सोझो ुतामेलु गर्दा ठगी अभियोगमा मुछिएका लालबहादुरलाई सुनसरी जिल्ला अदालतले दोषी ठहर्याउँदै कारागार चलान गरेको थियो ।
जिल्ला अदालतले १९ मंसिर २०७९ मा लालबहादुरलाई डेढ वर्ष कैद, ७० हजार जरिवाना तोक्यो । यसबाहेक ठगी भएको १८ करोड ८४ लाख ६६ हजार ८ सय ८९ रुपैयाँ लालबहादुरसहित चार जनाबाट दामासाहीले बिगो भराउने फैसला भएको थियो । जसअनुसार लालबहादुरले ४ करोड ७१ लाख १६ हजार ७ सय २२ रुपैयाँ २५ पैसा बिगो तिर्नुपर्ने फैसला थियो ।