
बिहिबार, जेठ १८, २०८०
……………………………….
दन्किए पछि भित्रको आगो
यो देखिएको भौतिक आगोले
पोल्न छाडे पछि
हो, त्यस बेला चाहिन्छ शीतलता
तर, आगो लगाएर शीतलता खोज्ने
उफ्१ तिम्रो रोजाई
तिम्रो कस्तो कठोर ठहर
आफैलाई सल्काउने बीभत्स रहर
खै के भनौँ
मित्र यति भन्नु थियो
कि आगो लगाएर शीतलताको प्राप्ति
किम कदाचित हुँदैन
बस यति भन्नु थियो
कि आगोले आगो कहिल्यै निभ्दैन
तर मैले भन्नै नपाइ
तिमिले आगो लगाइहाल्यौ
तिमिले आगो सल्काइ हाल्यौ
आफ्ना सपनाहरूको भन्दा बढी
अर्थोक कुनै चिजको माया लाग्दैन
तर सपना र बिपनाको बिचमा
निरन्तर बगिरहने वर्तमानहरूलाई
यो आजको दुर्दिनहरूलाई
यो सहनै नसकिने क्रूर वास्तविकतालाई
के तिमिले लगाएको आगोले
डढाउन सक्छ
म नै शरीर हुँ
म भित्र आत्मा छैन भन्ने
भौतिकवादको स्कुलिङमा हुर्किएका
सत्तासीनहरूको आत्मामा
तिमिले सल्काएको आगो
के सल्किएला
सदियौँ देखि मात्र मूकदर्शक बनिएका
यी हिउँ भन्दा चिसा मुटु भएका
भुईँ मान्छेका मुटु भित्र
तिमिले लगाएको आगो, दन्किएला
प्रत्येक पल अलि अलि गर्दै
आफैलाई पोल्दै खाँदै
डुलिहिड्ने तिमि म र हामी जस्ता
पानी मरुवाहरूका रक्तधमीनीमा
तिमिले जलाएको आगो रन्किएला
यस्ता कयौँ प्रश्न गर्नु थियो
धेरै बात मार्नु थियो
तर तिमिले आगो लगाइ हाल्यौ
तिमिले आगो सल्काइ हाल्यौ
तिम्रा पद चिन्हहरूमा
अरू कोही हिँड्नु भन्दा पहिले
तिम्रो स्व–दहन गर्दा निस्किएको चित्कार
जसले साबित गरिसकेको छ
कि, आवाज त आगोको पनि हुँदो रहेछ
तिम्रो कठोर रहर भित्रको
निर्मम बाध्यतालाई
बेलैमा उसले बुझिदियोस्
र यो साझा इजलासबाट
तिमिलाई सहिद घोषणा गर्ने
फैसला हुनु भन्दा पहिले
ए, म जस्तै लाग्ने मेरो मित्र
तिमिलाई अँजुली भरिको श्रद्धाञ्जली १
हेमसागर तिम्सिना (सुमेरु)
इटहरी–५, सुनसरी