
शुक्रबार ५ साउन, २०८०
*अर्जुन पौडेल
खै कस्तो अनौठो मान्छे म
झुक्नै नजान्ने
अभावमा पनि सहयोग नमाग्ने
दुखलाई पनि वास्तै नगर्ने
विचारले सबैसँग गाँसिन खोजे पनि
उच्च ओहोदा केही नचिन्ने
भन्दा हुन्थ्यो होला
आपत् विपत् टर्थ्यो होला
दुख देखाए पनि बिक्थ्यो होला
सान्त्वना दिनेकै लाइन लाग्थ्यो होला
प्रयोग गरे चिनेका सोर्स
म पनि उँभो लाग्थे होला
खै कस्तो अनौठो खालको मान्छे
आफ्नो स्वार्थमा बोली फुटाउनै नसक्ने
डोर्याएर ल्याएकाले
माथि सम्म पहुँच बनाए
कुरा बेच्न सक्ने हैसियत बनाए
म त तल तल भुईँमै रमाउने मान्छे
माथिकालाई वास्ता नगरे जस्तो
निरन्तर संघर्ष गर्दा पनि
बेरोजगार भए जस्तो
खै किन हो अचेल ऊर्जै आउँदैन
विचार रित्तिएकासँग भेट्न मनै लाग्दैन
केहीको नजरमा ठुलो ठालु भए जस्तो
कस्तुरी सुगन्ध खोज्दै भौँतारिए जस्तो
हत्तपत्त कसैको नजिक हुनै नसक्ने
भए पछि जीवन्त छाड्नै नसक्ने
खै कस्तो अनौठो मान्छे म
चाहेर पनि स्वभाव परिवर्तन नगर्ने
आफ्नो लागि अरूलाई प्रयोग गर्नै नसक्ने
म फलानो हु, हत्तपत्त भन्दै नभन्ने ।