
शुक्रबार, ८ भदौ २०८०,
धरानमा धार्मिक विवाद देखिएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका अनुसार जिल्ला सुरक्षा समितिको बैठकले आज राति १२ बजेबाट भोली राति १२ बजेसम्म निषेधाज्ञा जारी भएको हो । धरानमा शनिबार हिन्दु अभियान्ताले गोरु काटेको र मन्दीर अगाडि चर्च बनाएको विरोधमा प्रदर्शन गर्ने तयारी गरेको छ । आफ्नो संस्कृति मनाउन पाउनुपर्ने भन्दै अर्को समूहले पनि भोलीका लागि नै प्रदर्शनको घोषणा गरेको छ ।
पक्ष विपक्षले एकै पटक आन्दोलन घोषणा गरेपछि स्थीति नियन्त्रणमा लिन प्रशासनले आजबाट लागु हुनेगरी धरानमा निषेधाज्ञा जारी गरेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालका अनुसार धरान प्रवेशको नाकामा पनि कडाई गरिएको छ । कडाई गरिएका क्षेत्रमा पनि निषेधाज्ञा जारी भएको छ ।
हिन्दु अभियान्ताहरुले शनिबार बरगाछी चोकबाट सिंहदेवी चोकसम्म ¥याली निकाल्ने तयारी गरेका छन् । संस्कृति मनाउन पाउनुपर्ने माग गर्दै आएको पहिचान पक्षधरले भोली भानु चौकमा प्रदर्शनको तयारी गरेको छ । दुवै पक्ष सामाजिक सञ्जालमा आक्रमक रुपमा प्रस्तुत भएपछि स्थानीय प्रशासनले केहीदिनदेखि सुरक्षा सतर्कता बढाएको थियो ।
पछिल्लो समय धरान प्रवेशको नाकामा कडाई गरिएको प्रहरी उपरीक्षक ढकालले बताए । उनका अनुसार धरानको प्रवेश नाका तरहरा, नहडा, झण्डा चोक, पानबारी र भेडेटारमा सुरक्षा सतर्कता अपनाइएको हो । ती स्थानमा प्रदर्शनका लागि आउने व्यक्तीलाई धरान प्रवेश गर्न दिएको छैन । हामीले सबैपक्षसँग छलफल गरेका छौं, धरानको आग्रह बाहिरबाट प्रदर्शनमा नआउनुहोस् भन्नेछ,’ प्रहरी उपरीक्षक ढकालले भने,‘ उच्च सुरक्षा सतर्कता अपनाएका छौं । भारतबाट समेत ‘गहुँत छर्कने कार्यक्रम’का लागि मानिस आउन थालेको सूचना पाएपछि प्रशासनले झापा मोरङ र सुनसरीको सीमा क्षेत्रमा पनि कडाई गरेको प्रहरी स्रोतले बताएको छ ।