
असोज २८, २०८०,
नेपालीहरुको महान चाड दसैँको पहिलो दिन आज घटस्थापना, घरघरमा जमरा राखिँदैछ । घटस्थापनाको दिन विधिपूर्वक जौँ, गहुँ तथा मकैलाई माटोमा छरिन्छ र टीकाको साइतमा जमरालाई फूलको रूपमा प्रयोग गर्ने चलन छ ।जमरालाई समृद्धिको प्रतीक मानिन्छ । जमरा राख्नुपूर्व गाउँघरमा रातो तथा कमेरो माटोले र सहरमा विभिन्न रङले घर लिपपोत तथा रङरोगन गर्ने परम्परा छ ।घर शुद्ध भएपछि मात्र देवीको आगमन हुन्छ भन्ने मान्यताका साथ टीकाको दिन आफूभन्दा मान्यजनको हातबाट टीका ग्रहण गर्दा पहेँलो जमरा नै प्रयोग गरिने हुनाले जमरा उमार्न शुद्ध माटो प्रयोग गरिन्छ ।सीआईएनसँग कुरा गर्दै नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डा श्रीकृष्ण अधिकारीले घटस्थापनाका लागि उत्तम समय बिहान ११ बजेर २९ मिनेट रहेको बताउनुभयो । जमरा राख्नुपूर्व पूजा कोठाको सरसफाइ तथा गाईको गोबरबाट लिपपोत गर्ने प्रचलन छ ।घटस्थापनाको उपलक्ष्यमा काठमाडौँको हनुमानढोका दरबारमा रहेको दसैँघरमा वैदिक विधिपूर्वक जमरा राखी महाकाली महालक्ष्मी, महासरस्वतीलगायत नवदुर्गा र अन्य शक्तिपीठहरूमा नवरात्रीको पूजा सुरु हुन्छ ।