
इटहरी, पुस २७ ,
सीप सिकेपछि सानो लगानी गरेर आयआर्जन गरी आत्मानिर्भर बनाउने मुख्य उद्देश्य राखेर इटहरी वडा नं. १ का महिला तथा पुरुषका लागि चार दिने प्रयोगात्मक सीपमूलक तालिम शुक्रबार सकिएको छ । वडा नं. १ का २५ जना सहभागी तालिममा साबुन, फिनेल र हर्पिक बनाउने तालिम भएको हो ।तालिम समापनका क्रममा इटहरी वडा नं. १ का वडाध्यक्ष कैलाश कार्कीले परम्परागत तालिमभन्दा यस खाले तालिमले नयाँपन ल्याएको बताए । उनका अनुसार तालिममा सहभागी भएर अब साबुन, हर्पिक र फिनेल बनाएर स्वरोजगारमुखी हुनेलाई वडाले सक्दो सहयोग गर्नेछ । सो क्रममा इटहरी वडा नं. १ का वडा सदस्य हरिहर चौधरीले तालिममा सहभागीलाईं अब सिकेको सीपलाई व्यवहारमा कार्यान्वयन गर्न सामान तयार गर्नतिर लाग्नुपर्ने सुल्झाए ।कार्यक्रममा मोरङ सुन्दरहरैँचामा सञ्चालित फिनेल र हर्पिक उद्योग हसिना ग्रुप प्रालिका सञ्चालक रोहित राईले गाउँ घरमा उत्पादन गरेका सामान समेत उद्योगले खरीद गरि हौसला प्रदान गर्ने बताए । तालिममा हर्पिक र फिनेल बनाउने प्रयोगात्मक तालिम राईले प्रदान गरेका थिए । तालिममा प्राकृतिक जुटीबुटीबाट साबुन तयार गर्ने तालिम भने सम्वृद्दि प्राकृतिक साबुन उद्योग धरान शाखा सञ्चालक मनिता घिमिरेले दिएकी थिइन् । पछिल्ला समय छालाको क्यान्सर, रगतको क्यान्सर, स्तन क्यान्सर, पाठ्ेयघर लगायतका नसर्ने रोगहरुको बृद्दि हुन थालेको छ । यस्ता रोगलाई निर्मूल गर्नका लागि प्राकृतिक जडिबुटीबाट बनेको साबुन लाभदायी हुन्छ । प्रशिक्षक घिमिरेले भनिन, ‘फुर्सदको समय पनि सदुपयोग हुन्छ । विशेषगरी महिलाहरुको समय खेर गोइरहेको छ । कतिपय पुरुष पनि सिजनल कामबाहेक अरु काम नपाउँदा बेरोजगार भएर बस्नु परेको छ । यस्तो अवस्थामा प्राकृतिक साबुन घरायसी प्रयोग र उद्यमको रुपमा धेरै उत्पादन गर्न सके बजारीकरण गरि राम्रो आम्दानी गर्न सकिन्छ ।’त्यसो त नेपालीलाई लाग्ने ८० प्रतिशतभन्दा बढी सरुवा रोग स्वच्छ खानेपानीको अभाव र सरसफाइको कमीले लाग्ने गर्छ भन्ने विभिन्न अनुसन्धानले देखाएको छ । सरसफाइमा पर्ने महत्वपूर्ण सौचालय पनि हो । शौचालय सफाइका लागि हर्पिक र फिनेल पनि आवश्यक पर्छ । यी सामग्री पनि गाउँघरमै उत्पादन गरेर आम्दानी गर्न सकिने सोचले तालिम आयोजना गरिएको आयोजक संस्था एराईजन नेपाल सोशाइटी सुन्दरहरैँचा मोरङकी अध्यक्ष पार्वती गच्छदारले बताइन् । कार्यक्रम इटहरी उपमहानगरपालिका वडा नं. १ को सहकार्यमा भएको हो ।