
माघ २५, २०८०,
इटहरी उपमहानगरपालिकाले नगर भरीका सबै विद्यालयमा एउटै पोसाक लागू गर्ने भएको छ ।नयाँ शैक्षिक सत्र सुरु हुनै लाग्दा उपमहानगरले निजी र सामुदायिक विद्यालयको पोशाकमा एकरूपता ल्याउन लागेको हो । निजी विद्यालयले थरी थरीका रंगी चंगी पोशाक प्रचलनमा ल्याएका छन् । कतिपयले कमिसनको लागि एकै जना विद्यार्थीलाई ४(५ थरी पोशाक तोकिएको पसलमा किन्न लगाउने गरेका छन् । कतिपय स्कूलले भने स्कूलबाटै बेच्ने गरेका छन् ।निर्णय लागू भएपछि इटहरीका १३४ निजी र ३६ सामुदायिक गरि १७० वटा विद्यालय मा पढ्ने ६३ हजार ५२६ विद्यार्थी एउटै पोशाकमा विद्यालय जानेछन् ।इटहरी उपमहानगरका नगर प्रमुख हेमकर्ण पौडेलले विद्यालयमा टाई हटाएर भादगाउले टोपी लगाउने निर्णय गरेको जानकारी दिएका छन् ।पोसाक देखेर इटहरीका विद्यालयको विद्यार्थी रहेछ भनेर सबैले चिनून् भन्ने उद्देश्य पनि हो,’ उपमहानगरका प्रमुख पौडेलले भने ।साथै उपमहानगरका कर्मचारी र जनप्रतिनिधिहरुका छोराछोरी अनिवार्य रुपमा सरकारी विद्यालयमा नै पढाउनुपर्ने निर्णय पनि गरिएको छ ।यस्तै विद्यालय मातहतमा कुनै स्टेशनरी बेच्न नपाइने र भर्ना शुल्क वापत एक पटक लिएपछि वर्षेनी भर्ना शुल्क लिन नपाइने भएको हो ।यस्तै विद्यालय आफैँले किताब बेच्ने गरेको गुनासो बढेपछि इटहरी उप महानगरपालिकाले विद्यालय हाताभित्रबाट पाठ्यपुस्तक तथा शैक्षिक सामग्री बिक्री(वितरण गर्न रोक लगाएको छ ।


