
१० चैत २०८०,
आज ९शनिबार देखि इटहरी रंगशालामा अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको १४ औं संस्करण हुँदैछ ।
यस वर्षदेखि रात्रिकालीन समयमा सुरु गरिन लागेको गोल्डकपको सम्पूर्ण तयारी पूरा भएको छ ।
शनिबार हुने उद्घाटन खेलमा विभागीय टिम सशस्त्र प्रहरी बलको एपीएफ र साबिक विजेता सगरमाथा युथ क्लब मोरङबीच प्रतिष्पर्धा हुदैछ ।
प्रतियोगिता इटहरी रंगशालामा सांझ साढे ६ बजेपछि ‘फल्ड लाइट’मा सुरु हुने आयोजक राष्ट्रिय जागृति क्लब इटहरीले जनाएको छ । एक सातासम्म चल्ने गोल्डकपमा एक भारतीयसहित ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टिमले नगद १० लाख र उपविजेताले ५ लाख रुपैयाँ र सर्वाधिक गोलकर्ताले २५ हजार पुरस्कार पाउने क्लबका उपाध्यक्ष केशव कार्कीले जानकारी दिए ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख रुपैयाँ प्रदान गरिने छ । विभिन्न विधामा उत्कृष्ट हुनेले नगद २० हजार र प्रत्येक खेलको म्यान अफ द म्याच हुने खेलाडीले १० हजार पाउने छन् । गोल्डकपलाई आगामी वर्ष पनि रात्रिकालीन समयमै आयोजना गरिने प्रतियोगिता संयोजक अनुरोध थापाले बताए ।
रंगशालाको उत्तर र दक्षिणतर्फको कुनामा लाइट जडान गरिएको छ । रंगशालामा लाइट जडानका लागि कोसी प्रदेश सरकार खेलकुद विकास बोर्डले गत आर्थिक वर्षमा ८० लाख रुपैयाँ बजेट उपलब्ध गराएको थियो । परतियोगितामा कूल ७६ लाख खर्च हुने अनुमान गरिएको छ ।