
१३ चैत २०८०,
त्रिभुवन आर्मी क्लब १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको सेमिफाइनलमा पुग्न सफल भएको छ ।
इटहरी रंगशालामा सोमबार राती सम्पन्न तेस्रो क्वाटर फाइनल खेलमा बिर्तामोड युनाईटेड झापालाई पेनाल्टी सुट आउटमा ३–२ गोल अन्तरले पराजित गर्दै आर्मी सेमिफाइनलमा पुगेको हो ।निर्धारित समयमा दुवै टिमले १–१ गोलको बराबरी खेलेपछि खेलको निर्णय सिधै पेनाल्टी सुट आउटबाट लिइएको थियो । पेनाल्टीमा बिर्तामोडका विवेक पौडेल, आशिष् चापागाईँ र देवेन्द्र तामाङको प्रहारलाई बिफल भयो । तर विशाल दर्जी र मौसम सुब्बाको प्रहार भने गोलमा परिणत भएको थियो । आर्मीका जीतेन्द्र कार्की, नवयुग श्रेष्ठ, फत्तेमान घलले गोल गरे । कमल थापाको प्रहार बिर्तामोडका गोलकिपर विवेक मगरले रोके ।
त्यसअघि निर्धारित समयको ८१ औँ मिनेटमा आशिष् चापागाईँले पेनाल्टी मार्फत गोल गरेर आफ्नो टिमलाई अग्रता दिलाएका थिए । खेलको ६ मिनेट थपिएको अतिरिक्त समयको अन्तिम मिनेटमा बिर्तामोडका नवयुग श्रेष्ठले पेनाल्टी मार्फत बराबरी गोल फर्काए ।
सोमबारको खेलको म्यान अफ द म्याच आर्मीका गोलकिपर बिकेश कुथु घोषित हुँदै नगद १० हजार पाए । मङ्गलवारको अन्तिम क्वाटर फाइनल खेल चर्च ब्वाइज युनाइटेड काठमाडौँ र न्युरोड टिम एनआरटी बिच प्रतिस्पर्धा हुने आयोजक राष्ट्रिय जागृति क्लबले जनाएको छ ।
आगामी शनिवार हुने फाइनल खेलको विजेताले नगद १० लाख र उपबिजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछ ।