
१५ चैत २०८० ,
सुनसरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधिको लागि चर्च ब्वाइज युनाइटेड र विभागीय टिम त्रिभुवन आर्मी क्लबबिच प्रतिस्पर्धा हुने भएको छ ।इटहरी रंगशालामा बिहीबार सम्पन्न अन्तिम सेमिफाइनलमा आयोजक राष्ट्रिय जागृति क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै झापा गोल्डकप च्याम्पियन चर्च ब्वाइजले आर्मीसँगको उपाधि भिडन्त पक्का गरेको हो ।चर्च ब्वाइजका लागि समीर तामाङले खेलको अन्तिम समयमा गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको ८९ औँ मिनेटमा निर्णायक गोल गरेका थिए । उनी खेलको म्यान अफ द म्याच समेत घोषित हुँदै नगद १० हजार हात पारे ।गत संस्करणको उपबिजेता चर्च ब्वाइजले अब उपाधिका लागि शनिवार फाइनलमा आर्मीसँग प्रतिस्पर्धा गर्नेछ । आर्मी साबिक विजेता सगरमाथा क्लब मोरङमाथि पेनाल्टी सुट आउटमा २–१ गोलको जीत हात पार्दै उपाधि नजिक पुगिसकेको छ ।फाइनल खेलको विजेताले नगद १० लाख रुपैयाँ हात पार्नेछ । उपबिजेताले ५ लाख रुपैयाँमा चित्त बुझाउनु पर्नेछ ।