
१७ जेठ २०८१,
क्रिकेटर सन्दीप लामिछानेको अमेरिकी भिसाको प्रक्रिया फेरि अघि बढेको छ । यसअघि अमेरिकाले उनको भिसा अस्वीकृत गरेपछि सन्दिपले पुनः प्रक्रियाका लागि आवेदन दिएका थिए ।
सन्दीपको भिसाका लागि नेपाल सरकारले कूटनीतिक रूपमा प्रयास अगाडि बढाएको थियो । यससँगै उनको भिसा प्रक्रिया फेरि अगाडि बढेको हो । अमेरिकी राजदूतावासले सन्दीपलाई आज अपराह्न ४ बजे अन्तरवार्ताका लागि बोलाएको छ ।सन्दीपले यही आइतबारदेखि सुरू हुने टी–२० विश्वकप खेल्न जानका लागि भिसा मागेका हुन् । विश्वकपमा नेपालको पहिलो खेल भने आगामी बुधाबार नेदरल्याण्ड्सविरुद्ध छ । दूतावासले भिसा दिए सन्दीप आजै राति अमेरिका उड्ने बताइएको छ ।बलात्कार मुद्दामा उच्च अदालत पाटनले सफाइ दिएपछि नेपाल क्रिकेट संघ क्यानले सन्दीपलाई पनि विश्वकपमा सामेल गराउने प्रक्रिया अघि बढाएको थियो। तर अमेरिकी दूतावासले भिसा दिन नमान्दा उनी जान पाइरहेका थिएनन्। उनलाई भिसा दिन माग गर्दै हिजो मात्र माइतीघरमा समर्थकहरूले प्रदर्शन गरेका थिए।