
मंसिर २, २०८१.
इटहरी उद्योग वाणिज्य सङ्घले नेपाल उद्योग वाणिज्य महासङ्घबाट ‘क’ वर्गको मान्यता प्राप्त गरेको छ। यस निर्णयले इटहरीको उद्योग, व्यापार, र व्यवसायिक विकासको क्षेत्रमा नयाँ सम्भावना र अवसरका ढोका खोल्ने विश्वास गरिएको छ।
नेपाल उद्योग वाणिज्य महासङ्घको पदाधिकारी समितिको असोज २ गते बसेको बैठकले इटहरी उद्योग वाणिज्य सङ्घलाई ‘क’ वर्गको मान्यता दिने निर्णय गरेको हो। महासङ्घका महानिर्देशक गोकर्णराज अवस्थीद्वारा हस्ताक्षर गरिएको पत्रमा इटहरी सङ्घले स्तरउन्नतिको लागि गरेको अनुरोधलाई सकारात्मक रुपमा लिंदै यो निर्णय गरिएको उल्लेख गरिएको छ।
सङ्घका अध्यक्ष जीवन पराजुलिका अनुसार, ‘क’ वर्गको मान्यता प्राप्त गर्नु इटहरीका लागि ठूलो उपलब्धि हो। उनले भने, “यो उपलब्धिले इटहरी उद्योग वाणिज्य सङ्घको प्रतिष्ठा बढाएको छ। अब केन्द्रले हामीलाई हेर्ने दृष्टिकोण फराकिलो हुनेछ। सेवा सुविधा र सहयोग पनि बढी प्राप्त हुनेछ, जसले गर्दा हामी व्यवसायिक क्षेत्रमा थप प्रभावकारी भूमिका निर्वाह गर्न सक्षम हुनेछौं।”
इटहरीको योगदानलाई कदर
अध्यक्ष पराजुलिले ‘ग’ वर्गमा रहेको सङ्घले यो स्तरोन्नति हासिल गर्नका लागि गरेका प्रयासहरू सफल भएकोमा खुशी व्यक्त गरे। उनले भने, “यो इटहरीको व्यवसायिक विकासका लागि एक कोशेढुंगा हो। यसले स्थानीयस्तरमा व्यापारिक गतिविधिलाई थप सशक्त बनाउन मद्दत गर्नेछ।”
कोशी प्रदेशमा चौथो ‘क’ वर्गको सङ्घ
कोशी प्रदेशमै ‘क’ वर्गको मान्यता प्राप्त गर्नेमा इटहरी उद्योग वाणिज्य सङ्घ चौथो हो। यसले इटहरीको व्यापारिक महत्त्वलाई झल्काउँछ। इटहरीको उद्योग वाणिज्य सङ्घमा १० हजारभन्दा बढी सदस्य आबद्ध छन्, जसले यस सङ्घलाई प्रदेशकै एक प्रभावशाली व्यापारिक संस्थाको रुपमा स्थापित गरेको छ।क्ष्ःन्)द्दण्द्दद्धज्ञज्ञज्ञठ)ज्ञद्धण्ण्ण्ट
स्तरोन्नतिसँगै थप सुविधा
‘क’ वर्गको मान्यता पाएसँगै इटहरी उद्योग वाणिज्य सङ्घलाई महासङ्घबाट थप सेवा सुविधा प्राप्त हुनेछ। महासङ्घका गतिविधिहरूमा इटहरीको प्रतिनिधित्व झन् प्रभावकारी हुने र यस क्षेत्रका व्यवसायीहरूले राष्ट्रियस्तरका विभिन्न अवसरहरूमा सहभागी हुन पाउने अध्यक्ष पराजुलिले जानकारी गराए।
ढिलो आएको आधिकारिक पत्र
यद्यपि असोजमा नै स्तरोन्नतिको निर्णय भएको भए पनि आधिकारिक पत्र भने निर्णयको एक महिना पछि मात्रै प्राप्त भएको हो। अध्यक्ष पराजुलिले महासङ्घलाई धन्यवाद दिंदै थप जिम्मेवारीका साथ काम गर्ने प्रतिवद्धता व्यक्त गरे।
इटहरी उद्योग वाणिज्य सङ्घले व्यवसायिक वातावरणलाई अझ सुदृढ बनाउँदै इटहरीलाई आर्थिक गतिविधिको प्रमुख केन्द्रको रुपमा विकास गर्नका लागि निरन्तर काम गर्दै आएको छ। यस स्तरोन्नतिले त्यस कामलाई थप गति दिने विश्वास गरिन्छ।