
४ पुस २०७९,
१ नम्बर प्रदेशसभा सचिवालयले प्रदेश सांसदलाई सपथ ग्रहणको तयारी गरेको छ । प्रतिनिधिसभा सदस्यको सपथग्रहण पछि प्रदेश १ सांसदको सपथ गराउने तयारी गरेको हो ।
प्रतिनिधिसभा सदस्यको सपथग्रहण पुस ७ गतेका लागि तोकिएको छ । प्रदेश १ मा त्यसपछि सपथ ग्रहण गराउने तयारी भएको प्रदेश १ प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीले बताए । ‘संघको सपथग्रहणपछि प्रदेशमा गराउने तयारी छ,’ उनले भने,‘ समय भने तोकिएको छैन ।’
प्रदेश प्रमुखले प्रदेशसभामा प्रतिनिधित्व गर्ने ९३ सांसद मध्ये ज्येष्ठ सदस्यलाई सपथग्रहण गराएपछि ज्येष्ठ सदस्यले अन्यलाई सपथ ग्रहण गराउने संवैधानिक व्यवस्था छ । प्रदेश १ मा ५६ जना प्रत्यक्ष निर्वाचित र ३७ जना समानुपातिक सांसद छन् । ती मध्ये नेपाली कांग्रेसबाट मोरङ क्षेत्र नम्बर ५(१) मा निर्वाचित गयानन्द मण्डल ज्येष्ठ सदस्य हुन् ।
प्रदेशसभा सचिवालयका सचिव पराजुलीले मण्डलले नै सपथग्रहण गराउने छन् । निर्वाचन आयोगमा उम्मेदवारहरूले बुझाएको विवरणअनुसार मण्डल ७९ वर्ष पुगेका छन् ।
प्रदेश सभा सदस्यको अन्तिम नामावली शनिबार निर्वाचन आयोगले प्रदेश प्रमुखलाई बुझाएको थियो । आयोगले बुझाएको नाम प्रदेश प्रमुखको कार्यालयबाट संसद् सचिवालयमा पठाइसकेको छ ।
सभामुख र उपसभामुखको निर्वाचन नभएसम्म ज्येष्ठ सदस्यको अध्यक्षता प्रदेशसभाको बैठक पनि बस्नेछ ।